काठमाडौँ । सरकारले सूचना प्रविधि क्षेत्रका दुई सहसचिवको राजीनामा स्वीकृत गरेको छ ।
९ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विविध सेवा, राजपत्राङ्कित प्रथम श्रेणी (सूचना प्रविधि) सहसचिवहरु डा. राम गोविन्द अर्याल र रमेश शर्मा पौड्यालले दिएको राजीनामा स्वीकृत गरेको हो ।
पौड्याल सूचना प्रविधि विभागको महानिर्देशक थिए । उनी राजपत्राङ्कीत प्रथम श्रेणी (विविध)अन्तर्गतका वरिष्ठतम् सहसचिव थिए । यस्तै, अर्याल भने लोकसेवा आयोगमा सूचना प्रविधि निर्देशक थिए ।
सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका अधिकांश निजामती कर्मचारी वृत्तिविकासलाई लिएर असन्तुष्ट रहँदै आएका छन् । मुख्यसचिवपछि निजामती सेवाको सर्वोच्च पद सचिवसमेत हुन नपाउने वर्तमान व्यवस्थाका कारण उनीहरू अपहेलित महसुस गर्दै आएका छन् ।
नयाँ बन्ने सङ्घीय निजामती ऐनले कर्मचारी प्रशासनमा रहेको विभेदकारी व्यवस्था हटाउने अपेक्षा गरेका सूचना प्रविधि क्षेत्रमा काम गर्ने सरकारी कर्मचारी त्यसो नहुँदा हतोत्साही बनेका छन् ।
पछिल्लो अध्यावधिक: असोज १०, २०८२ १७:५७
