close

दशैँका लागि उपत्यकामा विशेष सुरक्षा बढाइयो, ड्रोन र सीसीटीभीमार्फत निगरानी

टेकपाना टेकपाना

असोज ११, २०८२ ८:४

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौँ । दशैँलाई लक्षित गरी काठमाडौँ उपत्यकामा विशेष सुरक्षा योजना लागु गरिएको छ । यसअन्तर्गत ड्रोन र सीसीटीभीमार्फत निगरानी हुने भएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शेखर खनालका अनुसार विशेषगरी भिडभाड हुने स्थानहरूमा ड्रोन प्रयोग गरेर निगरानी गरिनेछ । “हामीसँग उपलब्ध ड्रोन प्रयोग गरेर मेला, भिडभाड, आन्दोलन, जुलुस तथा चाडपर्व जस्ता विशेष अवस्थाहरूमा निगरानी गर्छौँ,” उनले टेकपानासँग भने ।

उनका अनुसार सामान्य अवस्थामा सीसीटीभीमार्फत नियमित निगरानी हुँदै आएको छ भने यस पटकको दशैँ सुरक्षा योजनाअन्तर्गत थप कडाइ गर्ने तयारी गरिएको छ ।

खनालका अनुसार नियमित ड्युटीमा खटिने सुरक्षाकर्मी बाहेक थप ६ हजार १०६ जनशक्ति परिचालन गरिएको छ । उनले भने, “दशैँमा धेरै मानिस उपत्यकाबाट बाहिर जाँदा घर खाली हुने भएकाले चोरी रोकथामका लागि राति पनि सादा पोसाकमा एम्बुस टोली परिचालन गरिएको छ ।”

यस्तै, सुनचाँदी पसल, बैंक तथा वित्तीय संस्थाजस्ता बढी कारोबार हुने स्थानहरूको सुरक्षालाई प्राथमिकता दिइएको छ । विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना, ट्राफिकसहितको संयुक्त चेकिङ र लामो दूरीका सवारी साधनहरूको निगरानी पनि गरिनेछ ।

त्यस्तै, नियमित ड्युटी अन्तर्गत मठ–मन्दिर सुरक्षा, आपराधिक क्रियाकलाप नियन्त्रण, पैदल गस्ती, मदिरा परीक्षण (मापसे) चेकिङ, झैझगडा तथा जुवा–तास नियन्त्रणलगायतका काम निरन्तर रहने एसएसपी खनालले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज ११, २०८२ ८:५