close

देशभक्तलाई ‘झोले’ भन्दै बदनाम गर्ने प्रयास भइरहेको छ: ओली

टेकपाना टेकपाना

असोज ११, २०८२ १३:३५

देशभक्तलाई ‘झोले’ भन्दै बदनाम गर्ने प्रयास भइरहेको छ: ओली

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रम फैलाउने र देशभक्तिको पक्षमा उभिनेहरूलाई गद्दार र झोले जस्ता आरोप लगाएर बदनाम गर्ने ट्रेन्ड चलाइएको आरोप लगाएका छन् । शनिबार गुन्डुमा एमाले युवा संघका कार्यकर्तालाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा मिस इन्फर्मेसन र डिस इन्फर्मेसनको खेती भइरहेको चर्चा गरे ।

अध्यक्ष ओलीले वर्तमान सरकारको नीति, कार्यक्रम र नियत राम्रो नभएको आरोप समेत लगाए । एमालेको नेतृत्वमा सरकार बनेपछि जहिले पनि राम्रा कामहरू भएको दाबी गर्दै उनले असहज अवस्थाबाट गुज्रिरहेको देशको अर्थतन्त्रलाई सही दिशा दिन एमाले सरकारको भूमिका महत्त्वपूर्ण हुने भनाइ राखे ।

प्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्दा आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने नारा सहित काम गरेको बताउँदै उनले त्यो अवस्था अहिलेसम्म कायम रहेको बताए ।

उनले आफूले कर्मचारी र प्रहरीलाई दिएका निर्देशनहरू भ्रष्टाचार उन्मुख नभएको, बरु आमूल परिवर्तन ल्याउने खालका रहेको उल्लेख गरे । उनले सत्यलाई ढाक्ने, सुशासनलाई लडाउन खोज्ने र कुनै गल्ती नभए पनि गल्ती छ भनेर प्रोपागान्डा फैलाउने काम भइरहेको आरोप लगाए ।

ओलीले वर्तमान सरकार संवैधानिक बाटोबाट वा जनताको अभिमतबाट नभई तोडफोड र आगजनीको माध्यमबाट बनेको आरोप लगाए ।

उनले सरकारलाई चुनौती दिँदै भने, “यो सरकारले मेरा अभिव्यक्तिहरू, मैले बोलेका कुराहरू हिम्मतका साथ प्रकाशन गरेर जनताका बीचमा ल्याओस् ।”

उनले आफूले विभिन्न क्षेत्रमा दिएका निर्देशनहरू रेकर्डेड रहेको भन्दै कर्मचारी र प्रहरीलाई दिएका निर्देशनहरूका साथै अरू क्षेत्रका कामहरू पनि बाहिर ल्याउन माग गरे । उनले एमाले कुनै छलछाम र षड्यन्त्र नगर्ने पार्टी भएकाले पारदर्शी ढंगले अगाडि बढ्ने र पारदर्शिता, स्वच्छता र जनतालाई सेवा सुविधा उपलब्ध गराउने नीतिमा अडिग रहेको भनाइ राखे ।

 

पछिल्लो अध्यावधिक: असोज ११, २०८२ १४:२९