अर्थमन्त्री खनालले २२ सय ह्वाट्सएप मेसेजलाई दिए जवाफ, गुनासो सम्बोधनमा सक्रिय
असोज १३, २०८२ २२:२८
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले गुनासोसहित आएका २२ सय ह्वाट्सएप मेसेज रिप्लाई गरेका छन् । अर्थ मन्त्रालयबाट प्रवाह हुने सेवा सम्बन्धमा गुनासो डिजिटल माध्यमबाट लिइरहेका मन्त्री खनालले सोमबार अपराह्नसम्म ह्वाट्सएपमा आएका २२ सय मेसेज रेस्पोन्ड गरेका हुन् ।
खनालले १५ सयभन्दा बढी गुनासो सम्बन्धी टेक्स्ट मेसेज र करिब १२१ ईमेलमा सेवाग्राहीले भोगेका समस्या सम्बोधनको पहल गरेका छन् ।
“अझै पनि सयौं गुनासोसम्बन्धी ईमेल हेर्न बाँकी छ । दशैंको टिकाभन्दा अगाडि सम्बोधन गर्ने लक्ष्य छ,” अर्थमन्त्री खनालले फेसबुकमा लेखेका छन् ।
यसअघि गत सातामात्रै अर्थमन्त्री खनाललाई सञ्चालनमा ल्याएको ६ घण्टामा अर्थ मन्त्रालयको गुनासो मेलबक्समा १६६ ईमेल प्राप्त भएका थिए । जसमध्ये दुई दर्जन गुनासोलाई अर्थमन्त्री खनालले रिप्लाईसहित सम्बोधन गरेका थिए ।
अर्थ मन्त्रालयले आफू मातहतका कर्मचारीले सेवाग्राहीलाई अनावश्यक दुःख दिए, घुस मागे वा काममा ढिलासुस्ती गरेमा सिधै मन्त्री खनाललाई गुनासो गर्न सकिने प्रणाली सुरुवात गरेको थियो ।
मन्त्रालयले नियामक, विभाग, कार्यालय र बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने सेवामा कार्यरत कर्मचारीको कार्यशैलीमा सुधार ल्याउन र सुशासन कायम गर्न यो कदम चालेको हो ।
कर्मचारीले गर्नुपर्ने काम नगरेको, अनुचित कामका लागि दबाब दिएको, घुस वा रिसवत माग गरेको वा सेवा प्रवाहमा अनावश्यक ढिलासुस्ती गरी कठिनाइ सिर्जना गरेको अवस्थामा सिधै मन्त्रीलाई गुनासो टिपाउन सकिन्छ ।
गुनासो दर्ताका लागि टोल फ्री हटलाइन १८१०५०००४१० समेत उपलब्ध गराइएको छ । मन्त्रालयले सेवाग्राहीले कुनै पनि कठिनाइ भोग्नुपरेमा वा कर्मचारीबाट गैरजिम्मेवारपूर्ण व्यवहार भएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ ।
गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सम्पर्क व्यक्तिहरू समेत तोकिएका छन् । यसका लागि उपसचिव निरन भट्टराईलाई ९८५१४०५२६५ र शाखा अधिकृत पवित्रा जवालीलाई ९८५१४०५२७५ नम्बरमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ । यसका साथै अर्थमन्त्री खनालको आधिकारिक ईमेल [email protected] वा [email protected] मा ईमेल गर्न सकिने मन्त्रालयले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असोज १३, २०८२ २२:२८
