close

एक किशोरको आत्मह*त्यापछि च्याटजीपीटीमा आयो ‘प्यारेन्टल कन्ट्रोल’ सुविधा

टेकपाना टेकपाना

असोज १४, २०८२ ९:३८

एक किशोरको आत्मह*त्यापछि च्याटजीपीटीमा आयो ‘प्यारेन्टल कन्ट्रोल’ सुविधा

काठमाडौँ । ओपनएआईले च्याटजीपीटीमा अभिभावकहरूले नियन्त्रण गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । अबदेखि वेब र मोबाइल दुवै संस्करणमा प्रयोग गर्न मिल्ने यो नयाँ फिचर एक किशोरको आत्महत्यापछि दायर गरिएको मुद्दापछि सार्वजनिक गरिएको हो ।

मुद्दामा च्याटजीपीटीले ती किशोरलाई आत्महत्या गर्ने तरिका सिकाएको आरोप लगाइएको थियो । यसरी एआई च्याटबटको सम्भावित नकारात्मक असरबारे अमेरिकी नियामक निकायहरूले निगरानी बढाइरहेका बेला कम्पनीले थप दबाबका बीच यो फिचर ल्याएको हो ।

नयाँ सुविधाअन्तर्गत अभिभावक र बालबालिकाको खाता लिंक गर्न सकिनेछ । यसका लागि अभिभावक वा बालबालिकाले रिक्वेस्ट पठाउने र अर्को पक्षले स्वीकृति दिएपछि मात्र सुविधा सक्रिय हुनेछ ।

कम्पनीका अनुसार यस फिचरमार्फत अभिभावकहरूले आफ्ना बालबालिकालाई संवेदनशील सामग्रीको पहुँचमा रोक लगाउन सक्नेछन् । साथै, पुराना कुराकानीहरू संकलन गर्ने वा नगर्ने, ती कुराकानीलाई मोडेलको तालिमका लागि प्रयोग गर्ने वा नगर्ने भन्ने निर्णय पनि उनीहरूले गर्न पाउनेछन् ।

त्यस्तै, प्रयोग समय सीमित गर्ने, भ्वाइस र इमेज जेनरेसन मोड प्रयोगमा रोक लगाउने सुविधा पनि समावेश गरिएको छ । तर अभिभावकहरूले बालबालिकाले च्याटजीपीटीमा के कुरा गरिरहेका छन् भन्ने प्रत्यक्ष हेर्न भने पाउने छैनन् ।

ओपनएआईले निकट भविष्यमा च्याटजीपीटीमा उमेर पहिचान गर्ने टुल पनि उपलब्ध गराउने जनाएको छ । उक्त फिचर सुरु भएपछि बालबालिकाको सुरक्षामा थप सहयोग पुग्ने कम्पनीको दाबी छ ।


 

पछिल्लो अध्यावधिक: असोज १४, २०८२ ९:३८