काठमाडौँ । एप्पलले आफ्ना प्रयोगकर्ताका लागि आईओएस २६.०.१ अपडेट सार्वजनिक गरेको छ । सोमबार आएको यो अपडेटलाई कम्पनीले मुख्य अपडेट नभए पनि अघिल्लो संस्करणमा देखिएका त्रुटि सुधार गर्ने महत्त्वपूर्ण संस्करणका रूपमा प्रस्तुत गरेको छ ।
एप्पलका अनुसार आईओएस २६ मा देखापरेका ब्लुटुथ र वाई-फाई ‘डिस्कनेक्सन’ सम्बन्धी समस्याहरूलाई नयाँ अपडेटले समाधान गर्नेछ । यी समस्या विशेषगरी आईफोन १७ सिरिजमा बढी देखिएका थिए । यससँगै केही प्रयोगकर्ताले अनुभव गरेको सेलुलर नेटवर्कको समस्या पनि समाधान हुने कम्पनीको दाबी छ ।
आईओएस २६.०.१ र आईप्याडओएस २६.०.१ ले आईफोन १७, आईफोन एयर र आईफोन १७ प्रो मोडेलमा देखिएका कनेक्टिभिटीका त्रुटिहरू सुधार्नेछन् । अघिल्लो संस्करण अपडेट गरेपछि नेटवर्क स्थायित्वमा समस्या आएको गुनासो गरेका प्रयोगकर्ताका लागि यो संस्करण उपयोगी हुने अपेक्षा गरिएको छ ।
नयाँ अपडेट आईफोन ११ देखि पछिल्ला मोडेलसम्म उपलब्ध गराइएको छ । नेपालमा पनि प्रयोगकर्ताले आईओएस २६.०.१ अपडेट डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: असोज १४, २०८२ १५:३५
