close

कम्पनी खरिदबारे ढिला जानकारी दिएको भन्दै टिकटकलाई इन्डोनेसियामा झण्डै १३ करोड जरिवाना

टेकपाना टेकपाना

असोज १४, २०८२ १८:२१

कम्पनी खरिदबारे ढिला जानकारी दिएको भन्दै टिकटकलाई इन्डोनेसियामा झण्डै १३ करोड जरिवाना

काठमाडौँ । इन्डोनेसियाको एन्टि-मोनोपोली एजेन्सीले ईकमर्स प्लेटफर्म टोकोपिडियाको अधिग्रहणबारे ढिला जानकारी दिएको कारण टिकटकलाई जरिवाना गरेको छ । निकायले कम्पनीलाई ९ लाख अमेरिकी डलर (झण्डै १३ करोड रुपैयाँ) बराबरको जरिवाना तोकेको हो ।

चीनको बाइटडान्स स्वामित्वमा रहेको टिकटकले २०२४ को जनवरीमा पीटी गोटु गोजेक टोकोपिडियाबाट ८४० मिलियन डलरमा टोकोपिडियाको ७५.०१ प्रतिशत शेयर खरिद गर्ने सम्झौता गरेको थियो । तर, सो सम्झौताबारे जानकारी ढिला गराएको भन्दै एजेन्सीले कारबाही गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार टिकटकले इन्डोनेसियाको निर्णयलाई सम्मान गर्ने र निष्पक्ष व्यावसायिक प्रतिस्पर्धा कायम राख्ने प्रतिबद्धता जनाएको छ ।

इन्डोनेसियाको एन्टि–मोनोपोली एजेन्सीलाई प्रतिस्पर्धा कानुनको उल्लङ्घनसम्बन्धी अनुसन्धान गर्ने, निष्कर्ष निकाल्ने तथा त्यसको आधारमा जरिवाना तोक्ने वा प्रशासनिक प्रतिबन्ध जारी गर्ने अधिकार छ ।

पछिल्लो अध्यावधिक: असोज १४, २०८२ १८:२१