स्टारलिङ्क इन्टरनेट आउँदा डर मान्नु पर्दैन, खुलेर स्वागत गर्नुपर्छ- वर्ल्डलिङ्क अध्यक्ष
असोज १४, २०८२ १८:४६
काठमाडौँ । वर्ल्डलिङ्कका अध्यक्ष दिलीप अग्रवालले एलन मस्कको स्टारलिङ्क सेवालाई नेपालमा स्वागत गर्नुपर्ने बताएका छन् । भारतीय सञ्चारमाध्यम इकोनोमिक टाइम्समा प्रकाशित भारतमा स्टारलिङ्कको परीक्षण सेवाबारेको समाचारलाई लिङ्कडइनमा शेयर गर्दै अग्रवालले नेपालमा पनि यसलाई अवसरका रूपमा लिनुपर्ने धारणा राखेका हुन् ।
स्टारलिङ्कले ग्रामीण क्षेत्रमा इन्टरनेट पुर्याउन सक्ने सम्भावना भएकाले यसलाई प्रतिस्पर्धीको रूपमा नभई सहयोगी प्रविधिका रूपमा हेर्नुपर्ने उनको बुझाई छ । “हामीले त स्टारलिङ्कलाई नेपालमा स्वागत गर्नुपर्छ । यसले ल्याएको प्रविधि प्रयोग गरेर अहिले पनि सहज र सुलभ इन्टरनेट नपुगेका ठाउँमा सेवा पुर्याउन सक्छौँ,” उनले भनेका छन् ।
हाल भारतमा स्टारलिङ्कको मासिक शुल्क तीन हजारदेखि ३५ सय भारतीय रुपैयाँ पर्नसक्ने अनुमान छ । जुन विद्यमान फाइबर ब्रोडब्यान्ड सेवाभन्दा निकै महँगो हो । साथै, स्टारलिङ्क इन्टरनेट चलाउन चाहिने विशेष उपकरणको मूल्य ३० हजारदेखि ३५ हजार भारुसम्म (४८ हजारदेखि ५६ हजार नेपाली रुपैयाँ) पर्ने अनुमान गरिएको ।
भारतका सहरी क्षेत्रमा विभिन्न कम्पनीहरूले फाइबर ब्रोडब्यान्ड प्याकेज करिब ४०० भारु (६४० नेपाली रुपैयाँ)बाट उपलब्ध गराइरहेका छन् । त्यसैले भारतको सहरी बजारमा स्टारलिङ्क इन्टरनेटले ठुलो प्रभाव नपार्ने इन्डिया रेटिङ्स एण्ड रिसर्चको मूल्यांकन छ ।
नेपालमा भने कानुनी अवरोधका कारण स्टारलिङ्क प्रवेश गर्न सकेको छैन । विद्यमान दूरसञ्चार ऐनले ८० प्रतिशतसम्म मात्र विदेशी लगानीलाई अनुमति दिने प्रावधान राखेको छ । तर, स्टारलिङ्क एक प्रतिशत हिस्सा अरु कोहीलाई नदिई शतप्रतिशत आफ्नै स्वामित्व भएको कम्पनीसहित नेपालमा इन्टरनेट सेवा सञ्चालन गर्न चाहन्छ । बरु उपकरण बिक्रीका लागि वितरक भने अरूलाई बनाउन स्टारलिङ्क राजी देखिन्छ ।
पछिल्लो अध्यावधिक: असोज १४, २०८२ १८:४८
