close

बढी भाडादर असुल्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गर्ने कुलमानको चेतावनी

टेकपाना टेकपाना

असोज १५, २०८२ १०:२८

बढी भाडादर असुल्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गर्ने कुलमानको चेतावनी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले स्वीकृत एवम् कानुनको प्रतिकूल हुनेगरी निर्धारितभन्दा बढी भाडादर असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गर्ने चेतावनी दिएका छन् । 

चाडबाडको मौका छोपी बढी भाडादर असुल्ने, टिकटको कालोबजारी गरेकोलगायतका गुनासो यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले कानुन विपरीतका क्रियाकलाप तत्काल बन्द गर्न आग्रह गरेका हुन् । 

अहिले देशको विषम परिस्थितिमा यातायात व्यवसायीलगायत सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा यात्रुलाई अनावश्यक दुःख दिएर चाडबाडलाई कमाउने मौका रूपमा प्रयोग नगर्न, स्वीकृत भाडा दरभन्दा बढी असुल नगर्न र टिकटमा कालोबजारी नगर्न उनले सचेत गराएका हुन् ।

यातायात व्यवसायीबाट त्यस्ता क्रियाकलाप गरेको पाइएमा तत्काल स्थानीय सुरक्षा निकाय र प्रशासनलाई खबर गर्न सरकारले आग्रह गरेको छ । दशैँको समयमा काठमाडौँसहितका गन्तव्यबाट आफ्नो थातथलो जानेको सङ्ख्या अधिक हुने समय पारेर यातायात व्यवसायीले तोकिएकोभन्दा दोब्बरसम्म भाडा असुल्ने गरेको गुनासो यात्रुहरूले गरिरहेका छन् ।  

 

पछिल्लो अध्यावधिक: असोज १५, २०८२ १०:२८