close

एप्पल-मिडियाटेकलाई टक्कर दिन आर्म भी नाइन चिप ल्याउँदै क्वालकम

टेकपाना टेकपाना

असोज १६, २०८२ १९:७

एप्पल-मिडियाटेकलाई टक्कर दिन आर्म भी नाइन चिप ल्याउँदै क्वालकम

काठमाडौँ । विश्व बजारमा अहिले कसले बढी शक्तिशाली चिपसेट उत्पादन गर्ने भन्ने प्रतिस्पर्धा तीव्र बनेको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढेसँगै यसमा खपत हुने चिपसेट निर्माणतर्फ विभिन्न कम्पनीहरू केन्द्रित भइरहेका छन् । यस क्षेत्रमा अमेरिकी कम्पनीहरू एप्पल र मिडियाटेकले आफूलाई मजबुत बनाइसकेका छन् ।

यही प्रतिस्पर्धामा क्वालकमले पनि आफ्नो रणनीति अघि सारेको छ । कम्पनीले निर्माण गर्ने चिपसेटमा आर्म होल्डिङ्सको नयाँ पुस्ताको कम्प्युटिङ आर्किटेक्चर ‘भी९’ प्रयोग गर्ने निर्णय गरेको छ । ‘भी९’ विशेषगरी एआई च्याटबोट र एआई फोटो जेनरेसनजस्ता कार्यमा प्रभावकारी मानिएको छ । क्वालकमको यस कदमले कम्पनीलाई बजारमा थप प्रतिस्पर्धी बनाउनासाथ आर्मको आर्थिक वृद्धि पनि हुने देखिन्छ ।

यसअघि क्वालकम र आर्मबिच ठुला कानुनी विवाद चलिरहेका थिए, जुन अझै अदालतमा विचाराधीन छ । तर पछिल्लो सहकार्यले दुई कम्पनीबिच सम्बन्धमा सुधार आएको संकेत गरेको विश्लेषकहरूको भनाइ छ । मिडियाटेकले यसअघि नै ‘भी९’ आर्किटेक्चर प्रयोग गरेको सार्वजनिक गरेको छ भने एप्पलले पनि यही प्रविधि प्रयोग गरिरहेको अनुमान गरिएको छ ।

यसरी आर्मले आफ्नो ‘भी९’ प्रविधि प्रमुख चिपसेट निर्मातामार्फत प्रयोगमा ल्याउन सफल भएको छ । जसले कम्पनीलाई बजारमा अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज १६, २०८२ १९:८