ओपनएआई बन्यो विश्वकै सबैभन्दा मूल्यवान् स्टार्टअप, पछि पर्यो एलन मस्कको कम्पनी
असोज १८, २०८२ ९:५५
काठमाडौँ । एआई कम्पनी ओपनएआई विश्वकै मूल्यवान् स्टार्टअप कम्पनी बनेको छ । वर्तमान र पूर्वकर्मचारीलाई शेयर बेच्न सहयोग पुर्याउने सम्झौता पूरा गरेसँगै ओपनएआईको मूल्यांकन ५०० अर्ब डलर पुगेको छ । जुन एलन मस्कको स्पेसएक्सको भन्दा ठुलो मूल्यांकन हो ।
रिपोर्ट अनुसार स्पेसएक्सको नयाँ अनुमानित मूल्यांकन लगभग ४०० अर्ब डलर रहेको छ । स्पेसएक्सलाई पछि पार्दै ओपनएआई ५०० अर्ब डलर मूल्यांकनका साथ विश्वकै सबैभन्दा मूल्यवान् निजी स्टार्टअप बनेको हो ।
पछिल्लो दुई दिनमा मात्रै ओपनएआईको छ अर्ब ६० करोड डलरको शेयर बिक्री भएको छ । विश्वका ठुला लगानीकर्ताले समेत कम्पनीको शेयर किनेका छन् ।
ओपनएआईले अझै प्रत्यक्ष नाफा कमाउन नसकेको भए पनि ठुला प्रविधि कम्पनीहरूसँग सम्झौता गर्दै एआई पूर्वाधार विस्तारमा सक्रिय भूमिका खेल्दै आएको छ । यसले ओर्याकल र एसके हाइनिक्सजस्ता कम्पनीसँग ठुलो स्तरका सम्झौता गरिसकेको छ ।
यो शेयर बिक्रीको कदमलाई कर्मचारीहरूलाई कम्पनीमा टिकाइराख्न र प्रतिस्पर्धीहरूबाट आकर्षक तलब-सुविधासहितका अफर अस्वीकार गर्न प्रोत्साहन दिने कदमका रूपमा हेरिएको छ ।
हाल एआई क्षेत्रमा ओपनएआईले गुगल, मेटा, एन्थ्रोपिक जस्ता कम्पनीहरूसँग तीव्र प्रतिस्पर्धा गरिरहेको छ ।
ओपनएआईको यो नयाँ मूल्यांकनले एआईप्रति विश्वभर बढ्दो लगानी, पूर्वाधार निर्माण र प्रविधि विकासमा देखिएको उत्साहलाई झल्काएको समाचारमा उल्लेख छ । कम्पनीले हालै आफ्नो शक्तिशाली जीपीटी-फाइभ मोडेल सार्वजनिक गर्दै आफूलाई थप मजबुत बनाउन खोजेको छ ।
पछिल्लो अध्यावधिक: असोज १८, २०८२ १०:६
