close

युट्युबमा अपलोड भयो मिस्टर बिस्टले १० वर्षअघि शेड्युल गरेको भिडिओ, भनेका थिए: १० लाख सब्स्क्राइबर पुगेको होस्

टेकपाना टेकपाना

असोज १९, २०८२ १२:३६

युट्युबमा अपलोड भयो मिस्टर बिस्टले १० वर्षअघि शेड्युल गरेको भिडिओ, भनेका थिए: १० लाख सब्स्क्राइबर पुगेको होस्

काठमाडौँ । युट्युबमा सबैभन्दा बढी सब्स्क्राइबर भएका मिस्टर बिस्ट ऊर्फ जिम्मी डोनाल्डसनले सन् २०१५ मा शेड्युल गरेको भिडिओ युट्युबमा सार्वजनिक भएको छ । ४ अक्टोबर २०१५ मा बिस्टले शेड्युल गरेको भिडिओ १० वर्षपछि ४ अक्टोबर २०२५ मा अपलोड भएको हो । 

१० उक्त भिडिओ रेकर्ड गर्दा मिस्टर बिस्ट १७ वर्षका थिए । उनको युट्युब च्यानलको नाम त्यतिबेला ‘मिस्टर बिस्ट ५०००’ थियो । पछि एक लाख सब्स्क्राइबर पार गरेपछि उनले पछाडिको ‘५०००’ शब्द हटाए । र उनले युट्युबमा ‘मिस्टर बिस्ट’ नाम मात्र राखे । सन् २०११ देखि युट्युबमा सक्रिय उनका लागि २०२५ सम्म १० लाख सब्स्क्राइबरको आँकडा पार होस् भन्ने चाहना थियो । अर्थात् यही १० लाख सब्स्क्राइबरको आँकडा उनका लागि सफलताको मानक थियो । १० वर्षपछि अपलोड भएको उक्त भिडिओमा उनले आफ्नो लक्ष्य पार नभए ‘असफल ठान्नू’ भनेका थिए । 

२०११ देखि सक्रिय भए पनि २०१२ मा उनको च्यानलमा २६ सब्स्क्राइबर पुगेका थिए । २०१३ मा उनको च्यानलमा १०० सब्स्क्राइबर पुगेका थिए । २०१४ मा ८०० सब्स्क्राइबर पार गरेका उनले २०१५ मा उक्त भिडिओ बनाउँदा आठ हजार सब्स्क्राइबर पूरा गरिसकेका थिए । यही रफ्तारलाई आधार बनाउँदै उनले २०१५ मा आफ्नो च्यानलमा १० लाख सब्स्क्राइबर पुगे सफल ठानिने उल्लेख गरेका थिए । हुन त २०१६ मा प्युडिपाईको युट्युब च्यानलमा दुई करोड सब्स्क्राइबर पुगिसकेका थिए । त्यतिबेला सर्वत्र छाएका प्युडिपाईलाई हेरेर बिस्टले आफ्नो सब्स्क्राइबरको लक्ष्य तोकेका थिएनन् । 

तर, आज १० वर्षपछि उनी विश्वकै सबैभन्दा बढी सब्क्राइबर हुने युट्युबर बनेका छन् । उनैले कुनै समय सब्स्क्राइबर बढाउन सघाएका प्युडिपाईभन्दा सब्स्क्राइबरमा निकै अगाडि पुगिसकेका छन् । हाल मिस्टर बिस्टको युट्युब च्यानलमा ४४ करोड ३० लाख बढी सब्क्राइबर छन् ।

दोस्रो स्थानमा रहेको टी-सिरिजमा ३० करोड ४० लाख सब्स्क्राइबर छन् । अर्थात् टी-सिरिज नै मिस्टर बिस्टभन्दा १३ करोड बढी सब्स्क्राइबरले पछि छ । १० वर्षअघि कुल १८ लाख भ्युज भएका मिस्टर बिस्टको च्यानलमा यो सामग्री बनाउँदासम्म ९६ अर्ब ८० करोड बढी भ्युज छ । १० वर्षको अवधिमा मिस्टर बिस्टका सब्स्क्राइबरको सङ्ख्या ५५ हजार गुणाले बढेको छ भने भ्युज ५३ हजार गुणा बढी छ । 

भ्युज र सब्स्क्राइबरमा मात्र नभई मिस्टर बिस्टले व्यक्तिगत र व्यावसायिक हिसाबले थुप्रै उपलब्धि हासिल गरेका छन् । परोपकारी युट्युबरको छवि बनाएका उनी लाखौं क्रियटरका लागि प्रेरणाको स्रोत बनेका छन् ।

मिस्टर बिस्टले यस्तो भनेका थिए १० वर्षअघि ! 

१० वर्षपछिको मलाई नमस्ते ।
म यस भिडिओलाई १० वर्षपछि अर्थात् २०२५ मा अपलोड हुने गरी शेड्युल गर्दैछु । मेरो लागि अहिले सन् २०१५ हो ।

त्यतिबेलासम्म कतै म मरिसकेको भएँ भने के होला ? त्यो साह्रै अनौठो हुनेछ । आत्माले शान्ति पाओस् । तर जे होस्, जब तपाईंले यो भिडिओ हेर्नुहुनेछ, त्यतिबेलासम्म मेरो १० लाख सब्सक्राइबर भएन भने मेरो जिन्दगी नै बर्बाद भएछ भन्ने सोच्नेछु । आशा छ यो हेर्दा मेरो १० लाख सब्सक्राइबर पुगिसकेको होस् ।

तपाईंले यो हेरुन्जेलसम्ममा मैले हाई स्कूल सकाएर कलेज पनि गइसकेको हुनेछु । आशा छ मैले युट्युबलाई नै आफ्नो जागिर बनाएको हुनेछु ।

अहिले मलाई युट्युबमा रमाइलो लागिरहेको छ र आशा छ भविष्यमा पनि लागिरहोस् । यदि मेरो एकदमै धेरै सब्सक्राइबर भए भने त गज्जबै हुनेछ । यो भिडिओ रेकर्ड गर्दा मेरो आठ हजार सब्सक्राइबर र १८ लाख भ्युज छन् । त्यसैले यो हेर्दा जति संख्या छ, त्योसँग यसलाई तुलना गर्नुहोला है । साँच्चै भविष्यको म, प्लिज १० लाख सब्सक्राइबर पुगेको होस् है ।

अहिले मैले खासमा इतिहास (हिस्ट्री)को जाँचका लागि पढ्नुपर्ने हो तर म यो भिडिओ बनाउँदैछु । मलाई जान्न मन छ १० वर्षपछि तिमीलाई मैले यो जाँचमा ल्याएको ग्रेड याद छ कि छैन । यदि याद छ भने त्यो गज्जब हुनेछ । कतै मेरो बिहे पनि भइसक्यो कि ?

कतै मेरो बिहे पनि नभएको र १० लाख सब्सक्राइबर पनि नपुगेको अवस्था भयो भने त मलाई ‘हारेको’ मान्छे सोच्लान् । आशा छ म अझै युट्युब गरिरहेको हुनेछु । यो भिडिओ सार्वजनिक हुँदा मैले युट्युब गर्न छाडिसकेको वा मरिसकेको भएँ भने त्यो अनौठो हुनेछ ।

भविष्यको म आशा छ तिम्रो दिन राम्रो बितिरहेको छ । यो भिडिओ सार्वजनिक हुँदासम्म मेरो १० लाख सब्सक्राइबर हुनैपर्छ ।

१० वर्ष ! म कति फरक भइसकेको हुनेछु । ल त, फेरि भेटौँला, भविष्यको म । एउटा अन्तिम कुरा, आज अक्टोबर ४ तारिख हो ।

पछिल्लो अध्यावधिक: असोज १९, २०८२ १२:३६