close

ओली-लेखकलाई पक्राउ गर्न बाध्य पारिए आईजीले राजीनामा दिने भन्दै फैलिएको प्रचार भ्रामक: प्रहरी

टेकपाना टेकपाना

असोज २४, २०८२ १५:२५

ओली-लेखकलाई पक्राउ गर्न बाध्य पारिए आईजीले राजीनामा दिने भन्दै फैलिएको प्रचार भ्रामक: प्रहरी

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब आए ‘राजीनामा दिन्छु’ भनी धम्की दिएको भन्ने प्रचारको खण्डन गरेका छन् । प्रहरी प्रधान कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्ता प्रचार भएको भएको दाबी गरेको छ ।

“केही दिन यता विभिन्न पत्र पत्रिकाहरू र सञ्चार माध्यमहरूमा प्रकाशित वा प्रसारित प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले ‘पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सृजना गरिए वा बाध्य बनाइए राजीनामा दिन्छु’ भनेको भन्ने आशयका भ्रामक समाचारहरूको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ  ।

खापुङ्गले प्रधानमन्त्री र माननीय गृहमन्त्रीसँगको भेटघाट र प्रतिवेदनहरूमा शान्ति सुव्यवस्था कायम गर्ने र सुरक्षा चुनौतीहरूको विश्लेषण गर्ने विषयमा मात्रै केन्द्रित भएर छलफल गरेको प्रहरी प्रधान कार्यालयको दाबी छ ।

जेनजी आन्दोलन दमनमा संलग्नताको आरोपमा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गर्न दबाब आइरहँदा आईजी खापुङ्गले राजीनामा दिने धम्की दिएको भन्दै केही अनलाइन मिडियामा प्रचार गरिएको थियो । यसपछि सामाजिक सञ्जालमा पनि बहस सिर्जना भएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २४, २०८२ १५:५३