विपत् पर्दा मोबाइलमा प्यानिक बटन थिचेरै चन्द्रागिरि नगरपालिकाको सहयोग माग्न सकिने
असोज २८, २०८२ १८:३१
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाले नगरवासीलाई कुनै विपद् परेमा मोबाइलबाट तत्कालै उद्दारका लागि सहयोग माग्न सक्ने सुविधा सञ्चालनमा ल्याएको छ । नगरपालिकाको आपत्कालीन कार्य सञ्चालन केन्द्रमा राखिएको ईआरसी (इमर्जेन्सी रेस्पोन्स कन्सोल) उपकरणमा साइरन बजाएर सहायता माग्न सक्ने प्रणाली सञ्चालनमा ल्याएको हो ।
गत जेठदेखि सञ्चालित यस प्रणालीमा नगरवासीले आगलागी, स्वास्थ्य समस्या वा सुरक्षाका लागि सहायता चाहिएमा ‘कता हो?’ मोबाइल एपमार्फत सहयोग लिन सक्छन् । अनलाइनबाट उक्त सेवा लिनसक्ने व्यवस्था मिलाइएको नगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखाका वरिष्ठ शाखा अधिकृत भद्रा अर्यालले बताइन् ।
यसका लागि ‘कता हो’ एप डाउनलोड गरेर फोन नम्बर र आफ्नो लोकेसन एक्सेसको अनुमति दिनुपर्छ । उनले भनिन्, “यो एप डाउनलोड गरेपछि विपद् परेमा एपमा भएको आपत्कालीन बटनमा थिचेर जानकारी दिन सकिन्छ । चन्द्रागिरि नगरपालिकाभित्र रहेका व्यक्तिले मात्र प्यानिक बटन थिचेर सेवा लिन पाउँछन् ।”
उनका अनुसार ‘कता हो’ एपमा देखिने रातो साइरन जस्तो प्यानिक बटनमा गएर लगातार ६ सेकेन्डसम्म थिचेपछि नगरपालिकामा रहेको ईआरसी केन्द्रमा साइरन बज्छ । साथमा समस्या परेको स्थानको डिजिटल ठेगाना, साइरन बजाउने व्यक्तिको सम्पर्क नम्बर सहितको जानकारी पनि प्राप्त हुन्छ ।
उक्त स्थानको लोकेसन र सहायता आवश्यक परेको जानकारी नगर प्रहरीलाई प्राप्त हुने बित्तिकै सहायता आवश्यक परेको व्यक्तिलाई कल ब्याक हुन्छ । त्यसपछि सहायता आवश्यक परेको स्थानमा तुरुन्तै नगर प्रहरीको टोलीलाई सहायताका लागि पठाइने उनले जानकारी दिइन् । नगरपालिकामा रहेका २३ जना नगरप्रहरी नै उद्दारका लागि सक्रिय रहने उनको भनाइ छ ।
हालसम्म नगरपालिकाको आफ्नै एप सञ्चालनमा नआएकाले ‘कता हो?’ एपबाटै उक्त सेवा दिँदै आएको शाखा अधिकृत अर्यालले बताइन् । उनले भनिन्, “नगरपालिकाको आफ्नै एप सञ्चालनमा ल्याएर अफलाइनबाट पनि यो सुविधा दिने तयारी भइरहेको छ ।”
यो प्रणालीले मानिस बोल्न नसक्ने अवस्थामा हुँदा पनि सञ्चार गर्न र सहायता प्रदान गर्न सकिने उनले बताइन् । प्रविधिमैत्री तरिकाबाट विपद् व्यवस्थापन प्रणाली सञ्चालनका लागि समेत उक्त प्रणाली सञ्चालनमा ल्याइएको उनको भनाई छ ।
हालसम्म उक्त प्रणालीबाट सात जनाको उद्दार भएको छ । डिजिटल तरिकाबाट सेवा लिने बारेमा सेवाग्राहीलाई कम जानकारी भएकाले सेवा लिनेको सङ्ख्या कम रहेको उनको भनाइ छ । शाखा अधिकृत अर्यालले भनिन्, “यो प्रणालीको बारेमा वडा वडामा गएर कर्मचारी, जनप्रतिनिधि र स्थानीयलाई जानकारी उपलब्ध गराएर सेवाग्राहीलाई थप सचेत बनाउने तयारीमा छौँ ।”
पछिल्लो अध्यावधिक: असोज २८, २०८२ १८:४६
