close

सय बढी स्टार्टअपको सहभागितामा ‘स्टार्टअप एन्ड आइडिया फेस्ट’ हुँदै, नि:शुल्क सहभागी हुन मिल्ने

टेकपाना टेकपाना

असोज ३०, २०८२ १३:४

सय बढी स्टार्टअपको सहभागितामा ‘स्टार्टअप एन्ड आइडिया फेस्ट’ हुँदै, नि:शुल्क सहभागी हुन मिल्ने

काठमाडौँ । आगामी २७ र २८ कात्तिकमा स्टार्टअप एन्ड आइडिया फेस्ट २०२५ आयोजना हुने भएको छ । काठमाडौँको बत्तिसपुतली स्थित अनुपम फुडल्यान्डमा आयोजना हुने उक्त फेस्टमा सात प्रदेशका सय भन्दा बढी स्टार्टअप तथा इनोभेसनहरूले सहभागिता जनाउने छन् । 

लिभिङ विथ आईसीटी र स्वाइड अफ चेन्जमेकरको संयुक्त आयोजनामा हुने उक्त फेस्टमा रोबोटिक्स, ड्रोन र एआई प्रविधिहरू, रकेट तथा एयरोस्पेसलाई प्राथमिकतामा राखिने बताइएको छ । फेस्टमा सहभागी हुने ५० भन्दा बढी स्टार्टअप, प्रोडक्ट र इनोसनहरूले आईसीटी अवार्ड २०२५ को सेमिफाइनलिस्टका रूपमा सहभागिता जनाउनेछन् । अवलोकनकर्ताहरूले ती प्रोडक्ट तथा इनोभेसनका आधारमा भोट पनि गर्न सक्नेछन् ।

नेपालमा इनोभेटिभ रूपमा काम गरिरहेका स्टार्टअप, विद्यार्थी र इनोभेटरहरूलाई प्रवर्धन गर्न तथा उद्यमशीलताको विकासका लागि फेस्टको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार उक्त प्रदर्शनीमा नि:शुल्क सहभागिता जनाउन सकिने छ । यहाँ क्लिक गरेर प्रदर्शनी तथा सहभागिता जनाउन फाराम भर्न सकिन्छ । 

यस्तै प्रदर्शनीमा राखिएका आइडिया र प्रोडक्टमा लगानी गर्न इच्छुक लगानीकर्ताहरूका लागि फेस्टमा प्रोडक्ट डेमो र नेटवर्किङ सेसनको पनि व्यवस्था गरिने बताइएको छ । दुई दिने प्रदर्शनीसँगै काठमाडौँ बाहिरबाट सहभागी हुन आउने स्टार्टअपहरूका लागि मेन्टरिङ तथा इन्क्युबेसन सेसनहरू सञ्चालन गरिनेछन् ।

स्टार्टअपहरूका लागि आर्किटेक्चर एज ए सर्भिस सम्बन्धी निःशुल्क प्रशिक्षण सेसन पनि सञ्चालन हुनेछ । मेन्टरिङ तथा प्रशिक्षण सेसनहरू सनवे कलेज र एमआईटी कलेजमा सञ्चालन गरिने बताइएको छ ।

उक्त फेस्टमा सहभागिता जनाउने सातै प्रदेशका उत्कृष्ट एक/एक स्टार्टअपलाई आईसीटी अवार्ड २०२५ को ग्रान्ड फिनालेमा 'प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन'बाट सम्मानित गरिने छ ।

आईसीटी अवार्ड २०२५ का लागि हाल विभिन्न १५ विधामा छनोट प्रक्रिया जारी छ । अवार्डमा ७ सयभन्दा बढी अनलाइन नोमिनेसन प्राप्त भएको आयोजकले जनाएको छ । 

 

पछिल्लो अध्यावधिक: असोज ३०, २०८२ १३:४