काठमाडौँ । नेपालका लागि दीपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले आफ्नो इलेक्ट्रिक एसयूभी दीपल एस०५ वीरगन्जमा सार्वजनिक गरेको छ । नयाँ शोरुमको उद्घाटनसँगै कम्पनीले नयाँ मोडेलको गाडी सेमत सार्वजनिक गरेको हो ।
बुधबार विरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, नायिका नीति शाह तथा एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया लगायतको उपस्थितिमा लक्जरी, स्टाइलिस्ट र प्रविधिमैत्री एस०५ सार्वजनिक गरिएको हो ।
कम्पनीका अनुसार विरगञ्जमा नोभस ब्रदर्स प्रालिले दीपलका अत्याधुनिक ईभीको विक्री वितरण र विक्री पछिको सेवा उपलब्ध गराउनेछ । यसै अवसरमा विभिन्न अफरहरूसहित यहाँ चार दिन लामो विशेष टेस्ट ड्राइभ एन्ड एक्स्चेन्ज सेवा समेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
दीपल एस०५ मा सीएटीएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.० उपलब्ध छ, जसको चार्जिङ साइकल ५ हजार (६ लाख किलोमिटर) रहेको दाबी कम्पनीले गरेको छ । गाडीमा दुवै फ्रन्ट सिट वेलकमिङ, भेन्टिलेटेड र हिटेड छन् । साथै, यसमा क्विन कोपाइलट सिट दिइएको छ, जसले लेग सपोर्ट र वन टच न्याप मोड मार्फत यात्रालाई थप सहज बनाउने उल्लेख छ ।
यसमा रिमोट इन एन्ड आउट पार्किङको सुविधा छ, जसले साँचोको प्रयोग गरेर ड्राइभरले सजिलैसँग गाडीलाई अगाडि र पछाडि सार्न सक्छन् । यसका साथै यसमा उपलध्ब्ध अग्मेन्टेड रियालिटी हेडअप डिस्प्लेमार्फत लाइभ नेभिगेसनका साथै ड्राइभिङसँग सम्बन्धित अत्यावश्यक सूचना सिधै विन्डशिल्डमा उपलब्ध हुनेछ ।
पछिल्लो अध्यावधिक: असोज ३०, २०८२ १३:५२
