close

सुरक्षाको कारण देखाउँदै काठमाडौँ विमानस्थलमा ड्रोन क्यामेरा ल्याउन रोक !

टेकपाना टेकपाना

असोज ३०, २०८२ १८:३

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौँ । सुरक्षाको कारण देखाउँदै आन्तरिक उडानबाट ड्रोन क्यामेरा काठमाडौँ ल्याउन रोक लगाएको पाइएको छ । ​ट्राभलर तथा फोटोग्राफर रोबिक उपाध्यायले भैरहवा विमानस्थलबाट आफूलाई लगेज वा ह्यान्ड क्यारी कुनैमाध्यमबाट पनि मिनी ड्रोन काठमाडौँ ल्याउन नदिइएको गुनासो गरेका छन् । 

भैरहवा विमानस्थलमा खटिएका सुरक्षाकर्मीले सुरक्षाको कारण देखाउँदै ड्रोन क्यामेरा आफूसँगै काठमाडौँ ल्याउन नदिइएको बताएका छन् ।

"सुरक्षाको कारण देखाउँदै मलाई ड्रोन क्यामेरा भैरहवाबाट काठमाडौँ ल्याउन दिइएन । के कारणले हो भन्दा माथिको निर्देशन छ भनेर पन्छिने काम भयो । विमानबाट लैजान पाइँदैन गाडीमा काठमाडौँ लैजानु भन्ने जवाफ मलाई दिइयो । जोखिम हुने भए आफूले ड्रोनबाट ब्याट्री अलग राखेर लैजान्छु भन्दा पनि लान दिइएन," उपाध्यायले भने ।

उपाध्यायसहित अन्य तीन चार जनालाई ड्रोन क्यामेरा ल्याउन रोक लगाइएको छ । 

जबकि उपाध्यायले तीन दिनअघि मात्रै भैरहवामा अर्को हवाई उडानबाटै ड्रोन क्यामेरा झिकाएका थिए । 

नेपाल नागरिक उड्ड्यन प्राधिकरणका उपप्रबन्धक एवम् सूचना अधिकारी ज्ञानेन्द्र भुलले तोकिएको वजनभन्दा बढी बाहेक अन्य कुनै पनि कारण ड्रोन क्यामेरा हवाई उडानबाट काठमाडौँ ल्याउन रोक नलगाइएको स्पष्ट पारेका छन् ।

"यदि ड्रोन क्यामेराको वजन तोकिएभन्दा बढी भयो भने ल्याउन नपाइने हो नभए त सहजै ल्याउन पाइन्छ । प्राधिकरणले ड्रोन क्यामेरा ल्याउन लैजान रोक लगाएको छैन," भुलले टेकपानासँग भने ।

त्यसैगरी, नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले अनुमति नलिएका र जथाभावी उडाइने ड्रोनलाई मात्रै कारवाही गरिएको बताएका छन् । 

“अनुमति नलिई सञ्चालन हुने ड्रोनमाथि रोक लगाइएको हो । अनुमति लिएकालाई ओसारपसार गर्न कुनै रोक लगाइएको छैन,” घिमिरेले भने । 

एक वायुसेवा सञ्चालक संस्थाका प्रतिनिधिले जथाभावी ड्रोन क्यामेरा उडाउने क्रम बढेकाले सुरक्षा निकायले कडाइ गर्दा त्यसको असर विमानस्थलमा देखिएको हुन सक्ने आशंका गरे । तर, वायुसेवा कम्पनीहरूलाई ड्रोन क्यामेरा उडानमा लैजान नदिनु भन्ने कुनै निर्देशन नआएको उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज ३०, २०८२ १८:३