close

एनटीसी पोस्टपेड ग्राहकका लागि नयाँ सुविधा, प्याकेज सकिएपछि स्वतः नवीकरण हुने

टेकपाना टेकपाना

असोज ३०, २०८२ १८:३९

एनटीसी पोस्टपेड ग्राहकका लागि नयाँ सुविधा, प्याकेज सकिएपछि स्वतः नवीकरण हुने

काठमाडौँ । नेपाल टेलिकमले पोस्टपेड ग्राहकहरूका लागि नयाँ सुविधा ‘रिकरिङ सजिलो अनलिमिटेड’ (Recurring Sajilo Unlimited) प्याकेज सार्वजनिक गरेको छ । असोज ३१ गतेदेखि लागु हुने यो प्याकेजको समयावधि सकिएपछि स्वचालित रूपमा पुनः खरिद (रिनुअल) हुने व्यवस्था गरिएको छ ।

साबिकका सजिलो अनलिमिटेड ६९९, ७९९, ९९९, १४९९ र एक्जेक्युटिभ प्याकलाई मुख्य अफरको रूपमा लिएर पहिलोपटक प्याकेज खरिद गर्दा अंग्रेजी महिनाको १५ तारिखलाई आधार मानेर प्रो-रेटको आधारमा रकम काटिने र सोपछि प्रत्येक अंग्रेजी महिनाको १५ तारिखमा स्वतः सोही प्याकेज नवीकरण हुने टेलिकमले जनाएको छ । 

अंग्रेजी महिनाको १५ तारिखमा बिलको हिसाब हुँदा प्याकेजको शुल्कभन्दा उपलब्ध क्रेडिट लिमिट पर्याप्त नभएमा सेवा अवरुद्ध हुन जान्छ । रिचार्ज गरेपछि मात्रै सेवा पुन: सुचारु हुने गर्छ । यस्ता प्याकेज खरिद गर्ने ग्राहकले उल्लेखित डेटा र एसएमएसले नपुग भएमा सोका लागि अन्य प्याकेज खरिद गर्न सक्छन् । 

ग्राहकले बढी वा कम रिसोर्सेज सहितका अन्य रिकरिङ प्याकेज खरिद गर्न चाहेमा वा साबिकका नर्मल एसएमएस र डेटा प्याकेज प्रयोग गर्न खोजेमा सो पनि खरिद गर्न सकिने टेलिकमले जनाएको छ । 

एउटा रिकरिङ प्याकेज चलिरहेको अवस्थामा अन्य रिकरिङ प्याकेज खरिद गरेमा उक्त प्याकेज ‘पेन्डिङ’ अवस्थामा बस्नेछ । पेन्डिङ प्याकेज लगत्तै आउने अंग्रेजी महिनाको १५ तारिखमा मात्र त्यो सक्रिय हुनेछ । अन्य सामान्य प्याकेज लिएको हकमा भने समयावधि कम रहेको प्याकेजको रिसोर्सेज पहिला प्रयोग हुनेछ । सेवा निष्क्रिय गर्न चाहने पोस्टपेड प्रयोगकर्ताले ‘GSM Postpaid Offer (Rs. 300)’ किनेर रिकरिङ बन्द गर्न सक्ने टेलिकमले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज ३०, २०८२ १८:३९