close

नझुक्किनुस्, फेसबुकमा पेज र अकाउन्ट गरी दुई थरी उपस्थिति जनाउँछन् सञ्चारमन्त्री खरेल

टेकपाना टेकपाना

असोज ३१, २०८२ १३:४७

नझुक्किनुस्, फेसबुकमा पेज र अकाउन्ट गरी दुई थरी उपस्थिति जनाउँछन् सञ्चारमन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफ्नो नाममा व्यक्तिगत फेसबुक प्रोफाइल र फेसबुक पेज दुवै चलाउँदै आएका छन् । सेलिब्रेटी तथा पब्लिक फिगरको नाममा अनेकौँ अकाउन्ट तथा पेजको बाढी आइरहेको समयमा फेसबुकमा सञ्चारमन्त्रीकै दुई थरी उपस्थिति देखिएको हो ।

मन्त्री खरेलको व्यक्तिगत अकाउन्ट र उनकै नामको फेसबुक पेज दुवै सक्रिय छन् । खरेलकै तस्बिर र नाम रहेका यी दुई प्रोफाइल तथा पेजमा शेयर गर्ने सामग्रीमा पनि खासै भिन्नता छैन ।

यद्यपि व्यक्तिगत प्रोफाइलमा केही अनौपचारिक प्रकृतिका पोस्टहरू समेत देखिन्छन् । पेज भने उनका पेसागत गतिविधि, मन्त्री स्तरीय गतिविधि, सार्वजनिक वक्तव्य जस्ता जानकारीमा बढी केन्द्रित छ ।

यद्यपि मन्त्री खरेलको व्यक्तिगत अकाउन्ट प्रोफेसनल मोडमा राखिएको छ । अर्थात् उपस्थितिको हिसाबले यो अकाउन्टले समेत फेसबुक पेज सरहकै काम गर्न सक्छ । तर कुनैमा पनि भेरिफाइड (चेकमार्कसहित) भने छैन । मन्त्री खरेलको अकाउन्टमा ७७ हजार र पेजमा ५० हजार फलोअर छन् ।

यस्तोमा दुई अकाउन्ट सञ्चार तथा सूचना प्रविधिमन्त्री जस्तो व्यक्तित्वका लागि कत्तिको आवश्यकताको विषय हो त ? आधिकारिक अपडेट तथा जानकारीका लागि उनलाई पेजमा पछ्याउने कि अकाउन्ट अथवा दुवै ?

छुट्‍टाछुट्‍टै उपस्थिति देखिँदा प्रयोगकर्तामाझ भने केही द्विविधा उत्पन्न हुन सक्ने देखिन्छ । किनभने एउटै सामाजिक सञ्जालमा दुई थरी उपस्थितिले त्यसमध्ये कुनै एक फेक पो हो कि भन्ने अन्योलता समेत सिर्जना हुन सक्छ । 

 

पछिल्लो अध्यावधिक: असोज ३१, २०८२ १३:४७