डिजिटल वालेट प्रभु पेको लाइसेन्स खारेज भएपछि के हुन्छ त्यसमा रहेको ग्राहकको पैसा ?
असोज ३१, २०८२ १५:१६
काठमाडौँ । प्रभु टेक्नोलोजी प्रालिले सञ्चालन गर्दै आएको प्रभु पे मोबाइल वालेटका ग्राहकले आफ्नो पैसा फिर्ता पाउने भएका छन् । नेपाल राष्ट्र बैँकले २४ असोजमा प्रभु पेले पाएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र नवीकरण नगर्ने निर्णय लिएसँगै उत्पन्न दुविधा हटेको हो ।
राष्ट्र बैँकले प्रभु पेले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकको संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए २४ असोजदेखि लागु हुने गरी ३० दिनभित्र सोही संस्थासँग सम्पर्क गर्न अनुरोध गरेको छ । तर, धेरैजसो प्रभु पे प्रयोगकर्ताहरूले वालेटको पैसा कसरी फिर्ता लिने भन्दै गुनासो गर्न थालेका छन् ।
राष्ट्र बैँकले समेत प्रभु पेले कारोबारका लागि तय गरेको सेटलमेन्ट बैँकलाई मोबाइल वालेटमा रहेको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न निर्देशन दिइसकेको छ । अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक संस्थाले ग्राहकको वालेटमा सृजना भएको ई-मनीको कारोबार फर्स्यौट गर्ने प्रयोजनका लागि सेटलमेन्ट बैँकको रूपमा काम गर्ने गरी राष्ट्र बैँकबाट इजाजतपत्र प्राप्त 'क' वर्षको बैँकमा छुट्टै सेटलमेन्ट खाता खोल्नुपर्ने प्रावधान छ । अर्थात् वालेट कम्पनीहरूले ‘क’ वर्गको वाणिज्य बैँकमार्फत नै वालेटको कारोबार गर्नुपर्ने हुन्छ । प्रभु पेको सेटलमेन्ट बैंक प्रभु बैंक रहेको बुझिएको छ ।
राष्ट्र बैँकका कार्यकारी निर्देशक तथा प्रवक्ता किरण पण्डितले प्रभु पेले तोकेको सेटलमेन्ट बैँकलाई वालेट प्रयोगकर्ताहरूको रकम फिर्ता गर्न निर्देशन दिइसकेको जानकारी दिए ।
“हामीले हेर्दा प्रभु पेका ग्राहक निरन्तर घटिरहेका छन् । वालेटमा लोड गरिएको रकम फिर्ता हुन्छ । त्यसका लागि हामीले प्रभु पेको सेटलमेन्ट बैँकलाई पत्राचार गरिसकेका छौँ । संस्थागत लेनदेन गर्नेहरूको हकमा भने कानुनअनुसार नै अघि बढ्छ । वालेटको पैसा फिर्ता गराउने मोडालिटी तयार गरेर सम्पर्क गर्न भनिसकेका छौँ । ढुक्क हुनुस्, पैसा फिर्ता हुन्छ,” पण्डितले टेकपानासँग भने ।
प्रभु बैँक सम्बद्ध प्रभु टेक्नोलोजी प्रालिले २०७६ फागुन ११ मोबाइल वालेट सञ्चालनका लागि राष्ट्र बैँकबाट लाइसेन्स पाएको थियो । त्यससँगै प्रभु टेक्नोलोजीले प्रभु पे नामक मोबाइल वालेट सञ्चालन गर्दै आएको थियो । कानुनअनुसार प्रभु टेक्नोलोजीले सर्त र प्रावधान पुरा गर्न नसकेपछि राष्ट्र बैँकले नवीकरण नगर्ने निर्णय गरेको हो । योसँगै प्रभु पेको अनुमतिपत्र खारेज हुने चरणमा पुगेको छ ।
प्ले स्टोर र आईओएसमा गरेर प्रभु पेको मोबाइल एप करिब सात लाख पटक डाउनलोड भएको छ । जसमध्ये पछिल्लो समय सक्रिय ग्राहक घटिरहेका थिए ।
पछिल्लो अध्यावधिक: असोज ३१, २०८२ १५:२८
