close

एआई प्रविधिले वित्तीय सुरक्षामा खतरा, सम्पत्ति शुद्धीकरण नियन्त्रणको प्रयासमा राष्ट्र बैँक

टेकपाना टेकपाना

कात्तिक १, २०८२ ८:३१

एआई प्रविधिले वित्तीय सुरक्षामा खतरा, सम्पत्ति शुद्धीकरण नियन्त्रणको प्रयासमा राष्ट्र बैँक

काठमाडौँ । नेपाल राष्ट्र बैँकले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र नयाँ प्रविधिहरूको प्रयोगबाट उत्पन्न वित्तीय अपराधको जोखिमलाई चुनौतीको रूपमा हेरेको छ । केन्द्रीय बैँक अन्तर्गतको वित्तीय जानकारी इकाइले शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदन सम्बन्धी गाइडलाइनमा अद्यावधिक गर्दै यस किसिमका जोखिम न्यूनीकरणका उपाय खोजेको हो ।

गाइडलाइनमा एआई र नयाँ प्रविधिहरूको प्रयोग सम्बन्धी सूचकहरूको एउटा छुट्टै वर्ग थप गरिएको छ । अपराधीहरूले कसरी प्रविधिको प्रयोग गरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ), आतङ्कवादी वित्त पोषण (टेरोरिस्ट फाइनान्सिङ) र ठगी गरिरहेका छन् भन्ने कुराको रिपोर्टिङमा यसले वित्तीय संस्थाहरूलाई सचेत गराउनेछ ।

गाइडलाइनले एआई र नयाँ प्रविधिको दुरुपयोगको रूपमा डिजिटल पहिचान चोरीलाई प्रमुखताका साथ समेटेको छ । जसअनुसार अपराधीहरूले ग्राहक पहिचान प्रमाणीकरण (केवाईसी) कागजातहरूमा डिजिटल हेरफेर वा डिपफेक सामग्री प्रयोग गर्ने जोखिम बढेको छ । यसबाहेक उनीहरूले खाता खोल्ने वा कारोबार गर्दा आफ्नो प्रमाण लुकाउनका लागि विभिन्न उपकरण (जस्तै: भीपीएन, स्पुफ आईएमईआई नम्बर) प्रयोग गर्न सक्छन् ।

यसैगरी स्वचालित तथा बटमा आधारित कारोबार समेत यसमा समावेश छ । जसअनुसार कारोबारको प्रवृत्ति बट-जस्तो देखिनु (जस्तै: ठ्याक्कै निश्चित अन्तरालमा वा धेरै अकाउन्टहरूमा स्वाभाविक नलाग्ने आवृत्ति र कारोबार हुनु) लाई सम्पत्ति शुद्धीकरणको सूचक मानिएको छ । यस किसिमको गतिविधिले स्वचालित समन्वयको सङ्केत दिन्छ ।

त्यस्तै ग्राहकहरूले वित्तीय सेवाहरूका लागि एआईमा आधारित एप, टेलिग्राम बट वा एपीआई प्रयोग गर्नुलाई पनि शङ्कास्पद मानिएको छ । विशेष गरी जब जुवा (gambling), बेटिङ वा क्रिप्टो आर्बिट्रेजसँग जोडिएमा त्यस्ता कारोबारहरूमाथि नजर राख्नुपर्नेछ ।

नक्कली ऋण प्रस्ताव, भ्वाइस सिन्थेसिस जस्ता एआई सिर्जित कारोबार पनि जोखिमपूर्ण मानिएको छ । कुनै प्राविधिक वा लगानी पृष्ठभूमि नभएका व्यक्तिहरूले अचानक जटिल एआई-इनेबल प्लेटफर्महरू (जस्तै: एल्गोरिदमिक ट्रेडिङ, टोकन मिन्टिङ) मा संलग्न हुनु र माइक्रोपमेन्टहरूको ठुलो मात्रामा कारोबार हुनु पनि एआई-आधारित पिरामिड योजना वा गेमिङसँग सम्बन्धित हुन सक्छ ।

यसैगरी अनरजिस्टर्ड वा अनियमित क्राउड-फन्डिङ पोर्टल वा पियर-टु-पियर लेन्डिङ प्लेटफर्म मार्फत गरिने कारोबारहरू पनि शङ्कास्पद हुन सक्ने भएकाले निगरानीमा राख्न आवश्यक ठानिएको छ । गाइडलाइनले वित्तीय अपराधमा प्रयोग हुने एआई बाहेकका अन्य प्राविधिक तथा डिजिटल माध्यमहरूमा पनि ध्यान दिनुपर्ने बताएको छ ।

जसमा भुक्तानी सेवा प्रदायक (डिजिटल वालेट) र भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) हरूले डिजिटल वित्तीय सेवाहरूको उच्च आवृत्ति र उच्च मात्राको कारोबारमा रातो झण्डा पत्ता लगाउनुपर्ने चुनौती औँल्याइएको छ । विशेषगरी एउटै मोबाइल नम्बरबाट विभिन्न नाममा वालेट अकाउन्टहरू बनाउनु वा अनलाइन जुवा/बेटिङ साइटहरू (जस्तै वनएक्सबेट, मेटाबेट, फिफिया) सँग जोडिएका अकाउन्टहरू प्रयोग हुनलाई शङ्कास्पद मानिएको छ ।

भर्चुअल सम्पत्तिलाई पनि सम्पत्ति शुद्धीकरणको लागि एक प्रमुख जोखिमको रूपमा पहिचान गरिएको छ । कारोबारको विवरणमा 'क्रिप्टो' शब्द प्रयोग भएको, पीटुपी एक्स्चेन्जहरूबाट रकम प्राप्त भएको वा अपरिचित ठेगानाहरूबाट बारम्बार अकाउन्ट एक्सेस प्रयास भएको खण्डमा सतर्कता अपनाउनु पर्नेछ ।

यसैगरी साइबर केन्द्रित ठगीमा अनलाइन जुवा वा अवैध भर्चुअल सम्पत्तिको कारोबारसँग जोडिएका खाताहरूमा असामान्य गतिविधि, अशिक्षित व्यक्तिहरूको खातामा डिजिटल कारोबार हुनु र युजरको आईपी ठेगाना वा जीपीएस कोअर्डिनेटहरू अन्य क्षेत्रबाट आएको पाइए पनि शङ्काको रूपमा हेरिनेछ । यसको उदाहरणका लागि भीपीएन प्रयोग गरी हुने कारोबारलाई लिन सकिन्छ ।

गाइडलाइनले वित्तीय संस्थाहरूको क्षमता तथा प्रविधिगत असमानतालाई पनि सरोकारको रूपमा राखेको छ । केही वित्तीय संस्थाहरूले एड्भान्स प्रविधिमा ठुलो लगानी गरे पनि अन्य संस्थाहरूमा त्यस किसिमको प्रविधिको अभावले गर्दा 'रेड फ्ल्याग' (रातो झण्डा) पत्ता लगाउनमा समस्या हुन सक्छ ।

यस किसिमका जोखिमलाई नियन्त्रण गर्न प्रविधि र एआईमा लगानी गर्नुपर्ने विषय केन्द्रीय बैँकले ‍औँल्याएको छ । जस अनुरूप एड्भान्स विश्लेषणात्मक टुल र एआई तथा मेसिन लर्निङ प्रविधिमा लगानी गर्नुपर्नेछ ।

यस्ता उपकरणहरूले ठुलो मात्रामा डेटा प्रशोधन गर्न, अस्वाभाविक प्रवृत्ति (unusual patterns), विसङ्गति र जटिल लेयरिङ प्रविधिहरूलाई अझ प्रभावकारी रूपमा पत्ता लगाउन मद्दत गर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक १, २०८२ ८:३१