close

अब गुगल लेन्सबाटै फोटो एडिट गर्न सकिने, यस्तो छ नयाँ एआई फिचर

टेकपाना टेकपाना

कात्तिक १, २०८२ १४:३४

अब गुगल लेन्सबाटै फोटो एडिट गर्न सकिने, यस्तो छ नयाँ एआई फिचर

काठमाडौँ । गुगल लेन्स एपमा फोटो एडिट गर्न मिल्ने नयाँ फिचर सार्वजनिक भएको छ । बिहीबारदेखि एन्ड्रोइड र आईओएस प्रयोगकर्ताका लागि उपलब्ध गराइएको यो फिचरले ‘नानो बनाना’ एआईको मद्दतले कुनै पनि तस्बिरलाई तुरुन्तै परिवर्तन गर्न सक्नेछ ।

यो नयाँ फिचरलाई कम्पनीले ‘एआई मोड’ अन्तर्गत ‘क्रिएट मोड’ (Create Mode) को नाम दिएको छ । यसको आइकनमा पहेँलो केराको चित्र रहेको छ । यसले प्रयोगकर्तालाई आफ्नो कल्पनालाई तस्बिरमा उतार्न र रमाइलो गर्न मद्दत गर्ने गुगलले जनाएको छ ।

हाल यो फिचर अमेरिकामा अङ्ग्रेजी भाषामा मात्र उपलब्ध भएको र छिट्टै अन्य देशमा विस्तार गर्ने गुगलको योजना छ ।

कसरी प्रयोग गर्ने यो फिचर ?

  • सबैभन्दा पहिले आफ्नो एन्ड्रोइड वा आईओएस डिभाइसमा गुगल एप खोलेर ‘लेन्स’ मा जानुहोस् ।

  • त्यहाँ रहेको नयाँ ‘क्रिएट’ (पहेँलो केराको आइकन) मा ट्याप गर्नुहोस् । (सेल्फी क्यामेरा प्रयोग गर्न सकिने फिचर पनि उपलब्ध छ)

  • त्यसपछि एपले सुझाएका प्रम्प्ट (जस्तै: ‘make a photo booth pic of me’) लेख्नुहोस् अथवा आफैले कुनै तस्बिर खिचेर आफूले चाहेको परिवर्तनबारे लेखेर (टेक्स्ट प्रम्प्ट दिएर) बताउनुहोस् ।
  • यति भएपछि एडिट भएको फोटो देखिन्छ । र, थप परिवर्तनका लागि निर्देशन दिन सकिन्छ र तयार भएको तस्बिर साथीभाइ वा परिवारसँग शेयर गर्न सकिन्छ ।

सेल्फी खिच्न नचाहने प्रयोगकर्ताका लागि पनि यसमा विशेष सुविधा छ । उनीहरूले आफ्नो सेल्फीको सट्टा पछाडिको क्यामेराबाट कुनै वस्तुको तस्बिर खिचेर वा ग्यालरीमा भएको पुरानो तस्बिर छानेर पनि एडिट गर्न सक्नेछन् । यस फिचरले फोटो एडिट मात्रै नगरी ‘क्रिएट इमेज’ टुलको प्रयोग गरी शब्दकै भरमा नयाँ तस्बिर बनाउन सक्छ ।

यसको अर्को रोचक पक्ष भनेको एआईसँगको थप अन्तरक्रिया हो । उदाहरणका लागि यदि तपाईंले कुनै तस्बिरमा आकर्षक कोट वा फर्निचर बनाउनुभयो भने त्यस्तै वस्तुहरू कहाँ किन्न सकिन्छ वा त्यसलाई अझ कसरी राम्रो बनाउन सकिन्छ भनेर एआईलाई सोध्न पनि सक्नुहुन्छ । यसअघि ‘नानो बनाना’ फिचर एआई स्टुडियो र जेमिनाई एपमा उपलब्ध थियो ।

पछिल्लो अध्यावधिक: कात्तिक १, २०८२ १४:३५