अमेरिकाले गर्यो राष्ट्रिय समय केन्द्रमा साइबर आक्रमण, गोप्य सूचना चोरी भएको चीनको आरोप
कात्तिक ३, २०८२ १२:५९
तस्वीरः एपी
काठमाडौँ । चीनले संयुक्त राज्य अमेरिकामाथि आफ्नो राष्ट्रिय समय केन्द्रमा घुसपैठ गरी गोप्य सूचना चोरेको गम्भीर आरोप लगाएको छ । चीनले यस्तो आक्रमणबाट देशको सञ्चार सञ्जाल, वित्तीय प्रणाली, विद्युत आपूर्ति र अन्तर्राष्ट्रिय मानक समय समेत अवरुद्ध हुन सक्ने खतरा औँल्याउँदै चेतावनी दिएको हो ।
चीनको राज्य सुरक्षा मन्त्रालयले आइतबार आफ्नो आधिकारिक विच्याट अकाउन्टमार्फत एक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (NSA) ले लामो समयदेखि राष्ट्रिय समय सेवा केन्द्रमा साइबर आक्रमण अभियान चलाइरहेको दाबी गरेको छ ।
मन्त्रालयका अनुसार अनुसन्धानका क्रममा सन् २०२२ देखि नै डेटा र महत्त्वपूर्ण जानकारी चोरी भएको प्रमाण फेला परेको छ । उक्त चोरी गरिएका जानकारी प्रयोग गरी केन्द्रका कर्मचारीको मोबाइल र नेटवर्क प्रणालीमा जासुसी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “अमेरिकी गुप्तचर एजेन्सीले सन् २०२२ मा एक विदेशी स्मार्टफोन ब्रान्डको मेसेजिङ सेवामा रहेको कमजोरीको फाइदा उठाउँदै कर्मचारीको डिभाइसमा पहुँच बनाएको थियो ।” यद्यपि चीनले उक्त ब्रान्डको नाम भने खुलाएको छैन ।
राष्ट्रिय समय केन्द्र चाइनिज एकेडेमी अफ साइन्सेज अन्तर्गतको एक अनुसन्धान संस्था हो । जसले चीनको स्ट्यान्डर्ड समय निर्धारण, व्यवस्थापन र प्रसारण गर्ने गर्दछ । मन्त्रालयको अनुसन्धानले सन् २०२३ र २०२४ मा अमेरिकाले केन्द्रको आन्तरिक नेटवर्क प्रणालीमा आक्रमण गरेको र उच्च-सटीक जमिनमा आधारित समय प्रणालीमा समेत आक्रमण गर्ने प्रयास गरेको देखाएको छ ।
यस आरोपबारे बेइजिङस्थित अमेरिकी दूतावासले सिधै कुनै प्रतिक्रिया नदिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । तर, दूतावासले चीनमा आधारित साइबर ह्याकरले अमेरिका र विश्वभरका प्रमुख दूरसञ्चार प्रदायकको नेटवर्कमा घुसपैठ गरी ठुलो स्तरमा साइबर जासुसी अभियान चलाइरहेको बताएको छ ।
दूतावासका एक प्रवक्ताले रोयटर्सलाई इमेलमार्फत भने, “चीन अमेरिकी सरकार, निजी क्षेत्र र महत्त्वपूर्ण पूर्वाधार नेटवर्कका लागि सबैभन्दा सक्रिय र निरन्तर साइबर खतरा हो ।” पछिल्ला केही वर्षयता चीन र अमेरिकाबिच साइबर आक्रमणलाई लिएर आरोप-प्रत्यारोप बढ्दै गएको छ । दुवै देशले एकअर्कालाई आफ्नो प्रमुख साइबर खतराका रूपमा लिएका छन् ।
हाल चीनले दुर्लभ खनिजको निर्यातमा नियन्त्रण विस्तार गरिरहेको छ भने उता अमेरिकाले चिनियाँ सामानमा थप भन्सार महसुल बढाउने धम्की दिएको छ । यसले गर्दा दुई देशबिच व्यापार तनाव पुनः बढेको छ । यस्तो समयमा भएको साइबर आक्रमणले दुई देशबिचको द्वन्द्वलाई थप चर्काएको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक ३, २०८२ १३:८
