काठमाडौँ । चर्चित डिजाइन प्लेटफर्म क्यान्भा विश्वभर अवरुद्ध भएको छ । अहिले प्रयोगकर्ताहरूले डिजाइन एडिट, डाउनलोड, शेयरिङ, लगइन र अन्य सुविधामा समस्या भोगिरहेका छन् ।
क्यान्भाले आफ्नो स्टाटस पेजमार्फत दिएको जानकारी अनुसार हाल साइटमा ‘मेजर आउटेज’ देखिएको छ, जसले क्यान्भाका वेबसाइट, मोबाइल एप, एडमिनिस्ट्रेसन, बिलिङ, मिडिया अपलोड, टेम्पलेट पेजदेखि लिएर एलएमएस इन्ग्रेशनसम्म प्रभावित पारेको छ ।
लगातार ‘इनक्रिज्ड एरर रेट्स’ को कारण सेवा सञ्चालनमा गम्भीर असर परेको कम्पनीले जनाएको छ । क्यान्भाको प्राविधिक टोलीले समस्या समाधानका लागि काम गरिरहेको बताएको छ ।
यसअघि पनि १५ अक्टोबर १५ केही प्रयोगकर्ताले छोटो समयका लागि क्यान्भा पहुँचमा समस्या भोगेका थिए, तर त्यो समस्या समाधान भएको थियो । तर, यो पटकको अवरोध विश्वव्यापी रूपमा ठूलो स्तरको समस्या भएको अनुमान गरिएको छ ।
क्यान्भाले प्रयोगकर्तालाई धैर्य राख्न आग्रह गर्दै सेवा यथासक्य छिटो पुनःस्थापना गर्न टोली सक्रिय रहेको जनाएको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक ३, २०८२ १४:२५
