close

जलेका सीटीईभीटी उत्तरपुस्तिकाको पुनः परीक्षा प्रदेशबाटै हुने, पौने २ करोड खर्च हुने अनुमान

टेकपाना टेकपाना

कात्तिक ३, २०८२ १७:१०

जलेका सीटीईभीटी उत्तरपुस्तिकाको पुनः परीक्षा प्रदेशबाटै हुने, पौने २ करोड खर्च हुने अनुमान

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनीबाट नष्ट भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का उत्तरपुस्तिकाहरूको पुनः परीक्षा सञ्चालनको तयारी थालिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सोमबार पत्रकारहरूसँगको कुराकानीमा यसबारे जानकारी दिएका हुन् ।

आन्दोलनका कारण जलेका उत्तरपुस्तिकाको परीक्षाका लागि विद्यार्थीहरूलाई काठमाडौँ आउनु नपर्ने गरी प्रदेशका सेन्टरबाटै परीक्षा दिने व्यवस्था मिलाइने उनले बताए ।

मन्त्री पुनले जलेका उत्तरपुस्तिकाको पुनः परीक्षा सञ्चालन गर्न करिब एक करोड ७५ लाख रूपैयाँ खर्च हुने अनुमान रहेको बताए ।

आन्दोलनकारीको निशानामा परेर कोशी र बागमती प्रदेशका सीटीईभीटीका २३ ओटा परीक्षा केन्द्रका डिप्लोमा र प्रि-डिप्लोमा तहका उत्तरपुस्तिकाहरू जलेका थिए । सुरक्षाका लागि प्रहरी कार्यालयमा राखिएको अवस्थामा ती उत्तरपुस्तिकाहरू नष्ट भएका थिए ।

सीटीईभीटीले यसअघि नै सूचना जारी गर्दै नष्ट भएका उत्तरपुस्तिकाहरूको पुनः परीक्षा आगामी ४ मंसिरदेखि सञ्चालन गर्ने जानकारी दिएको छ ।

केही विद्यार्थीहरूले जाँच नदिई पास गर्नुपर्ने माग राखे पनि जाँच नगरी कसैलाई पास गराउन नसकिने मन्त्री पुनले स्पष्ट पारे । उनले भने, “जाँच नगरी कसरी पास गर्न सकिन्छ ? त्यसैले जलेका उत्तरपुस्तिकाको परीक्षा लिनुपर्ने सहमति भएको छ ।” परीक्षाका लागि समय तालिका निर्माण लगायतका सम्पूर्ण काम पूरा भइसकेको उनले बताए ।

 

पछिल्लो अध्यावधिक: कात्तिक ३, २०८२ २२:१२