close

२४ भदौको आन्दोलनमा अदालत जोगाएर भाइरल भएकी महिला प्रहरीको बढुवा

टेकपाना टेकपाना

कात्तिक ४, २०८२ १६:२९

२४ भदौको आन्दोलनमा अदालत जोगाएर भाइरल भएकी महिला प्रहरीको बढुवा

काठमाडौँ । २४ भदौको जेनजी आन्दोलनका क्रममा साहस देखाएर अदालत जोगाउने महिला प्रहरी संगीता अधिकारीलाई बढुवा गरिएको छ । आन्दोलन भड्किँदा त्यो दिन संसद, सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म आगजनी र तोडफोड भएका थिए । सो क्रममा प्रदर्शनकारीको भिड दाङ जिल्ला अदालततर्फ पनि अघि बढेको थियो ।

अदालत परिसरमा प्रवेश गरेका केही व्यक्तिले तोडफोड र आगजनी सुरु गरेका बेला त्यहाँ कार्यरत सहायक हवलदार अधिकारीले हात जोडेर प्रदर्शनकारीलाई अदालत नजलाउन अनुरोध गरेकी थिइन् । उनको आग्रहको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

भिडिओमा उनले आक्रोशमा आएका भिडहरूलाई संयमित पार्न खोजी रहेको देखिन्छ । उनले प्रदर्शनकारीहरूलाई “भाइ तपाईँहरू यहाँबाट गइदिनुस्” भनेर हात जोड्दै सम्झाइरहेकी छिन् । उनले आफ्नै करबाट बनेको सम्पत्ति भएको भन्दै सम्झाउँछिन् । उनले भिडमा रहेका व्यक्तिहरूलाई भनेकी छिन्, “यो जलाउने ठाउँ हैन नि । यो हाम्रै ट्याक्सबाट बनेको सम्पत्ति हो । यस्तो गर्न हुन्न नि ।”

“अदालत नै जलाएर कसरी हुन्छ ?” भनेर उनले प्रदर्शनकारी अदालतको महत्व बुझाउने प्रयास गरेकी थिइन् । उनको संयमित र जिम्मेवार व्यवहारले सामाजिक सञ्जालमा व्यापक प्रशंसा पाएको छ ।

भिडिओ सार्वजनिक भएपछि दाङ जिल्ला अदालतले अदालत जोगाउन विशेष भूमिका खेलेको भन्दै अधिकारीलाई कदरपत्र र पाँच हजार रुपैयाँसहित सम्मान गरेको थियो ।

त्यसपछि अदालत जोगाउने विशेष योगदानको कदरस्वरूप उनलाई ७२औँ प्रहरी दिवसको अवसरमा सहायक हवलदारबाट हवलदारमा बढुवा गरिएको हो । उनीलाई प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले दर्ज्यानी चिन्ह लगाइदिएका छन् ।

हवलदार अधिकारीले यसअघि काठमाडौँमा पाँच वर्ष कार्यरत रहँदा भिड नियन्त्रणको अनुभव हासिल गरेको बताइन् । उनले भनिन्, “त्यो बेला भिड निकै आक्रोशित थियो । हामीले शक्ति प्रयोग गर्न सक्ने अवस्था थिएन, त्यसैले सम्झाइ बुझाइ गरेरै नियन्त्रण गर्नुपर्‍यो ।”

उनका अनुसार त्यही अनुभव र तालिमले उनलाई शान्तिपूर्ण ढंगले भिडलाई रोक्न मद्दत गर्‍यो ।

यद्यपि दाङ जिल्ला अदालत पूर्ण रूपमा जोगिए पनि केही क्षति भने भएको अदालतका सूचना अधिकारी गोकर्ण वलीले जानकारी दिएका छन् । उनका अनुसार आन्दोलनका क्रममा करिब ५० ओटा मिसिल नष्ट, पाँच ओटा मोटरसाइकलमा आगजनी, कयौँ फर्निचर, दराज र सिसा फुटाइएका थिए ।

त्यसका साथै एसी, टिभी, कम्प्युटर र अन्य उपकरणहरूमा पनि क्षति पुगेको उनले जनाए । अदालतमा रहेको करिब आठ लाख रुपैयाँ नगद पनि हराएको वलीको भनाइ छ ।

तर, प्रहरीको समयमै हस्तक्षेपका कारण अदालत पूर्ण रूपमा जल्नबाट जोगिएको वलीले बताए । उनले भने, “​संगीताजी ले आधा जति प्रदर्शनकारीलाई बाहिर नै भुल्याएर फिर्ता पठाउनु भयो । त्यसैले धेरै मिसिलहरू जोगिए ।”

पछिल्लो अध्यावधिक: कात्तिक ४, २०८२ १७:२