न्युज २४ टेलिभिजनले राष्ट्रिय आविष्कार केन्द्रभित्र ‘जबरजस्ती’ रिपोर्टिङ गर्न खोजेको भिडिओको आलोचना
कात्तिक ५, २०८२ १६:५९
काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रभित्र जबरजस्ती रिपोर्टिङ गर्न खोजेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले न्युज २४ टेलिभिजनको आलोचना गरेका छन् । “राष्ट्रिय आविष्कार केन्द्रमा पुग्दा जे देखियो, दादागिरी शैलीमा उत्रिए एक युवा” शीर्षकमा उक्त टेलिभिजनले अपलोड गरेको भिडिओलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गोपनीयताको सम्मान नगरेको भन्दै आलोचना गर्न थालेका हुन् ।
न्युज २४ ले राखेको भिडिओमा रिपोर्टर आविष्कार केन्द्रभित्र पुगेको देखिन्छन् । ३ मिनेट ४३ सेकेन्ड लामो उक्त भिडिओमा रिपोर्टरले केन्द्रका एक युवकसँग गरेका कुराकानी र केही दृश्य देख्न सकिन्छ ।
फेसबुकमा उक्त भिडिओलाई यो सामग्री तयार पार्दासम्म साढे पाँच लाख बढी पटक हेरिएको छ । त्यस्तै साढे चार हजारभन्दा धेरै रियाक्सन गरिएको छ । हेर्नुहोस् भिडिओ ।
सो भिडिओ हेरेर अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले सुत्ने कोठा लगायतका ठाउँ देखाउन जबरजस्ती गरेको भन्दै रिपोर्टरको आलोचना गरेका छन् ।
उक्त भिडिओको कमेन्टमा सामाजिक सञ्जाल प्रयोगकर्ता मञ्जु श्रेष्ठले मिडियालाई मन लागेको समयमा गएर रिपोर्टिङ गर्ने भन्दै प्रश्न गरेकी छिन् । उनले लेखेकी छिन्, “मिडियालाई जति बेला मन लाग्यो त्यति बेला गएर के देखाउने ? खाने बस्ने सुत्ने मिडियालाई देखाउन कुनै जरुरि छैन । यो कुन मिडिया हो तत्काल license खारेज गरियोस ।”
अर्का प्रयोगकर्ता घनश्याम भट्टले देखाउन मिल्दैन भनेका कुरा जबरजस्ती देखाउन नमिल्ने बताएका छन् । उनले लेखेका छन्, “देखाउन मिल्दैन भन्दाभन्दै हरेक ठाउँ,कुना-कुना देखाउनै पर्ने हेर्नै पर्ने किन? पत्रकारिता आबरणमा कार्यकर्ताहरुको डनगिरी खेदजनक छ।यिनको निजि घर कोठा घुमाउछन्/देखाउछन्?सबक सिकाएर लघार्नु पर्ने प्रबृत्ती ।”
अर्का प्रयोगकर्ता प्रदीप लामिछानेले केन्द्रको आविष्कार भएका सामग्रीको प्रचारमा ध्यान दिनुपर्ने बताएका छन् । केन्द्रको भित्रको रिपोर्टिङ गर्दा बौद्धिक चोरी हुन सक्ने उनको बताएका छन् । उनले लेखेका छन्, “आविष्कार केन्द्रमा आविष्कार भैसकेका सामानहरु देखाउने हो त्यसको प्रचारप्रसार गर्ने हो नाकी आविष्कार गर्दा गर्दाको बेलामा रिपोर्ट गर्ने हो । तपाईंले लिएका भिडियोबाट कोसैले नक्कल गर्यो भने त्यस्को जिम्मेवार को? तयार भएका सामानहरु देखाउन भन्नुहोस उहाँ तपाईलाई सजिलैसङ देखाइदिनुहुन्छ र त्यस्को उपयोगिताको बारेमा पनि भनिदिनुहुन्छ ।”
भिडिओमा के छ ?
भिडिओमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पद सम्हालेपछि केन्द्रको अवस्था देखाउन खोजिएको भन्दै रिपोर्टिङ गरिएको छ । रिपोर्टरले भिडिओमा माथिल्लो तलामा जान खोज्दा एक युवाले अवरोध गरेका छन् । उनले भनेका छन्, “मलाई यो कोइसन नगर्नु होला । माथि सकेसम्म नजानु होला । त्यहाँ बस्ने ठाउँ हो, सुत्ने ठाउँ हो ।”
जवाफमा रिपोर्टरले भनेका छन्, “बस्ने भए पनि हामी देखाउँछौँ नि सर ।” त्यसपछि ती युवातर्फ क्यामेरा देखाइन्छ । क्यामेरा आफूतिर फर्काएपछि ती युवाले भन्छन्, “कृपया माइक चाहिँ मेरो अगाडि नदेखाउनुस् है ।”
जवाफमा रिपोर्टरले भनेका छन्, “तपाईँ माइकको अगाडि नआउनुस् न । हामीलाई किन छेक्नु हुन्छ भन्ने कुरा ।” त्यसपछि ती युवाले पुन: “माथि नजानुस्” भनेका छन् ।
युवकले जान मिल्दैन भनिरहँदा रिपोर्टरले के देखाउन मिल्छ के मिल्दैन भनेर आफूहरूलाई थाहा भएको बताउँछन् । केन्द्रको वस्तुस्थिति देखाउन खोजेको बताउँदै उनी भन्छन्, “हामी राष्ट्रिय आविष्कार केन्द्रमा आएका छौँ । यहाँको वस्तुस्थिति जे हो त्यही देखाउनका लागि खोज्दा खेरि पनि यहाँ रोकिरहनु भएको छ ।"
केन्द्रको बारेमा जानकारी दिने व्यक्ति नै कोही नरहेको र अवरोध समेत भएको बताउँदै उनी माथि जान्छन् । त्यहाँको स्टोर रुममा देखाउँदै उनले भनेका छन्, “पुराना खटारा स्टोर जस्तो देखिएको छ ।”
त्यसपछि उनले ‘रेस्ट गर्ने एरिया’ रहेको बताउँदै सुत्न मिल्ने गरी ओछ्यान लगाइएको कोठा ढोका बाहिरबाट नै देखाएका छन् । भिडिओ भवनबाहिर भएको मेसिनहरू देखाइएको छ । प्रशिक्षक र विद्यार्थीहरू भने हाल केन्द्रमा नरहेको उक्त भिडिओमा उल्लेख छ ।
पछिल्लो अध्यावधिक: कात्तिक ५, २०८२ १७:१९
