close

विन्डोज १० को ‘अन्त्य’ पछि लिनक्स ओएसमा कीर्तिमानी वृद्धि

टेकपाना टेकपाना

कात्तिक ७, २०८२ ८:५१

विन्डोज १० को ‘अन्त्य’ पछि लिनक्स ओएसमा कीर्तिमानी वृद्धि

काठमाडौँ । माइक्रोसफ्टले विन्डोज १० को सपोर्ट बन्द गरेपछि लिनक्स डिस्ट्रिब्युसन जोरिन ओएसले अहिलेसम्मकै ठुलो सफलता प्राप्त गरेको छ । विन्डोज १० को सपोर्ट बन्द भएकै दिन १४ अक्टोबर २०२५ मा जोरिन ओएसको पछिल्लो भर्सन जोरिन ओएस १८ सार्वजनिक भएको थियो ।

जोरिन ओएस निर्माताले हालै सामाजिक सञ्जाल पोस्टमार्फत घोषणा गरेअनुसार जोरिन ओएस १८ को लन्च अहिलेसम्मकै सबैभन्दा ठुलो हुन पुगेको हो । रिपोर्ट अनुसार यो भर्सन दुई दिनभन्दा अलि बढी समयमै एक लाख भन्दा बढी पटक डाउनलोड भएको थियो । अझ महत्त्वपूर्ण कुरा यसमध्ये ७२ प्रतिशत डाउनलोड विन्डोज डिभाइसहरूबाट आएको थियो ।

विन्डोज १० को आधिकारिक सपोर्ट समाप्त भएपछि प्रयोगकर्ताहरूलाई सीमित तरिकाले सपोर्ट विस्तार गर्न, विन्डोज ११ मा अपग्रेड गर्न वा गैर-विन्डोज अपरेटिङ सिस्टममा स्विच हुन बाध्य पारिएको छ ।

यस अवस्थामा विन्डोज १० प्रयोगकर्ताहरूलाई आकर्षित गर्ने प्रयासमा धेरै लिनक्स डिस्ट्रिब्युसन (लिनक्सका विभिन्न प्रकार हुन्छन्, प्रत्येकको आफ्नै डिजाइन पर्फर्मेन्स हुन्छ) लागेका छन् । गैर-विन्डोज अपरेटिङ सिस्टमहरूमा रुचि राख्ने प्रयोगकर्ताहरूका लागि लिनक्स एउटा विकल्प हो । यसमा जोरिन ओएस निकै सफल देखिएको छ ।

विन्डोज प्रयोगकर्ताका लागि जोरिन ओएस उत्कृष्ट विकल्प हो । लिनक्सको यो भेरियन्ट विन्डोज जत्तिकै नजिक हुन खोज्छ । यो यति धेरै कस्टमाइज छ कि यो लिनक्सभन्दा बढी विन्डोज जस्तो महसुस हुन्छ ।

विन्डोज ११ मा जान इच्छुक नभएको वा अपग्रेड हुन नसक्ने अवस्थामा जोरिन ओएस विचार गर्न सकिने उत्कृष्ट निःशुल्क लिनक्स भेरियन्ट मध्ये एक हो ।

पछिल्लो अध्यावधिक: कात्तिक ७, २०८२ ८:५१