close

जेनजी आन्दोलनको भाइरल फोटोबारे दीपकराज गिरीले भनेः दोषी प्रमाणित भए कारबाही भोग्न तयार छु

टेकपाना टेकपाना

कात्तिक ७, २०८२ २०:३२

जेनजी आन्दोलनको भाइरल फोटोबारे दीपकराज गिरीले भनेः दोषी प्रमाणित भए कारबाही भोग्न तयार छु

काठमाडौँ । अभिनेता दीपकराज गिरीले २४ भदाैको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा आफ्नो कुनै संलग्नता नरहेको दाबी पारेका छन् । आन्दोलनका क्रममा तोडफोड भएको स्थानमा खिचिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएर आलोचना भएपछि गिरीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । 

उनले आफू दोषी प्रमाणित भए हदैसम्मको कारबाही भोग्न तयार रहेको समेत बताएका छन् । २४ भदौमा तोडफोड भएको एक घरअगाडि उभिएको उनको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ । धेरैले सार्वजनिक सम्पत्तिमाथिको आक्रमणमा उनको भूमिकामाथि प्रश्न उठाएका छन् ।

आफूमाथि लागेको आरोपको खण्डन गर्दै गिरीले फेसबुकमा लेखेका छन्, “नेपालका हरेक परिवर्तनसम्बन्धी आन्दोलनलाई समर्थन गरेझैँ यसलाई पनि समर्थन गरेकै हो । यदि त्यो अपराध हो भने अपराध त भयो नै ।”

उनले उक्त फोटो खिचिएको परिस्थितिबारे खुलाउँदै आफू राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीको बोलाहटमा एक सर्वपक्षीय भेलाका लागि बानेश्वर जाने क्रममा उक्त स्थानमा पुगेको बताए ।

“मेरो घरबाट बानेश्वर जाने बाटोमा पर्दो रहेछ त्यो घर, त्यहाँ केही रमिते केटाहरूले तोडफोड भइसकेको घर हेरिरहेका थिए, मलाई हात हल्लाए, फोटो खिचे । भएको त्यति नै हो,” उनले भनेका छन्, “तर अहिले त्यो बाटोमा हिँडिरहेको फोटो हालेर आफ्नै शैलीको राम्रो कथा बुनिएछ ।”

गिरीले आफू तोडफोड र आगजनीको पक्षमा नरहेको र त्यसलाई रोक्न प्रयास गरेको समेत दाबी गरेका छन् । “व्यापक तोडफोड र आगजनी सुरु भएपछि हामीले ‘तोडफोड नगरौँ’ भन्ने एउटा भिडिओ पनि बनायौँ,” उनले लेखेका छन्, “त्यसपछि घर आएर निरन्तर ‘तोडफोड नगरौँ, राष्ट्रको सम्पत्ति जोगाऔँ’ भन्ने स्टाटस हालिरहेँ ।”

उनले आन्दोलन र आगजनी फरक पाटो भएको बताउँदै दोस्रो पाटोमा विभिन्न स्वार्थ समूह र दलका मान्छेहरू छिरेको दाबी गरे । आफ्नो संलग्नता नरहेकोमा विश्वस्त रहेका गिरीले चुनौती दिँदै भने, “देशमा भएको त्यो तोडफोड र आगजनीमा मेरो सहभागिता छैन ! यदि प्रमाणित हुन्छ भने हदैसम्मको कारबाहीको लागि तयार छु ।”

पछिल्लो अध्यावधिक: कात्तिक ७, २०८२ २०:४३