काठमाडौँ । नेपालको चर्चित मनोरञ्जन कम्पनी ओएसआर डिजिटलले युट्युबमा एक करोड (१० मिलियन) सब्सक्राइबर पार गर्दै नयाँ उपलब्धि हासिल गरेको छ । कम्पनीले शुक्रबार यो आँकडा पार गरेको हो ।
यो अवसरमा कम्पनीका प्रबन्ध निर्देशक ओमप्रकाश अग्रवालले भीसीडीदेखि युट्युबसम्मको यात्रामा समर्थन गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, “२५ वर्षको मेहनत र ९ वर्षको युट्युब सहयात्राले अर्को ठुलो फड्को पार गर्यो- नेपालमा १० मिलियन सब्सक्राइबर पूरा गर्ने पहिलो अर्गनाइजेसन/कम्पनी प्लस इन्टरटेनमेन्ट/मिडिया’ युट्युब च्यानल ! भीसीडीदेखि युट्युबसम्मको यो यात्रा तपाईंहरूको साथ र माया बिना सम्भव थिएन । हरेक समर्थनका लागि हामी तपाईंप्रति हार्दिक धन्यवाद व्यक्त गर्छौं ।”
ओएसआर डिजिटलले युट्युब च्यानलमा नेपाली सिनेमा, म्युजिक भिडिओ, टेलिसिरियल, ट्रेलर तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गर्दै आएको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक ८, २०८२ ११:५९
