लुभ्र चोरीमा प्रयोग भएको लिफ्ट निर्माताको अनौठो इन्स्टा प्रचार: छिटो सामान सार्नुपरे हामीलाई सम्झनुहोस्
कात्तिक ८, २०८२ १८:३७
काठमाडौँ । फ्रान्सको लुभ्र सङ्ग्रहालयमा दिनदहाडै भएको करोडौं डलरको गहना चोरीको घटनाले फ्रान्सेली प्रहरी र अधिकारीलाई हैरान बनाइरहेका बेला चोरीमा प्रयोग भएको लिफ्ट निर्माता कम्पनीले भने यही घटनालाई आफ्नो प्रचारको माध्यम बनाएको छ । बोकर (Böcker) नामक एक जर्मन कम्पनीले सामाजिक सञ्जालमा उक्त लिफ्टको व्यङ्ग्यात्मक विज्ञापन पोस्ट गरेको हो ।
उत्तर-पश्चिमी जर्मनीको वेर्नमा अवस्थित कम्पनीले चोरीपछिको घटनास्थलको तस्बिर इन्स्टाग्राममा पोस्ट गर्दै लेखेको छ, “अर्को पटक तपाईंलाई कुनै सामान छिटो सार्नु परेमा, बोकर एजिलोले तपाईंको ४०० किलोग्रामसम्मको खजानालाई प्रति मिनेट ४२ मिटरको गतिमा ढुवानी गर्छ, त्यो पनि २३० भोल्टको ई-मोटरका कारण लगभग आवाजविहीन तरिकाले ।”
आइतबार बिहान सङ्ग्रहालय सर्वसाधारणका लागि खुला भइसकेको अवस्थामै चोरले १०० मिलियन डलरभन्दा बढी मूल्यका ऐतिहासिक गहना चोरेर लगेका थिए । बाहिरिएका भिडिओ फुटेजमा चोरले लिफ्ट जडान गरिएको ट्रक प्रयोग गरी दोस्रो तलाको बार्दलीबाट भित्र पसेको देखिन्छ । हालसम्म ती गहना चोरी गर्ने चोर भने फरार छन् ।
सीएनएनसँगको कुराकानीमा कम्पनीका प्रबन्ध निर्देशक अलेक्जेन्डर बोकरले आफ्नै कम्पनीको लिफ्ट प्रयोग भएको खबर देखेपछि स्तब्ध भएको बताए । उक्त चोरीको घटनामा आफ्नो कम्पनीको संलग्नता नदेखिएको पुष्टि भएपछि उत्साहित भएको र त्यसैलाई बजारीकरणको माध्यम बनाएको उनको भनाइ छ ।
सोमबार पोस्ट भएको कम्पनीको विज्ञापनमा प्रायः सकारात्मक प्रतिक्रिया आएका छन् ।
यता लुभ्र सङ्ग्रहालयकी निर्देशक लरेन्स दे कार्सले सङ्ग्रहालयको पुरानो क्यामेरा प्रणाली अपोलो ग्यालरीले पूर्वी बाल्कोनीसम्म निगरानी नगर्ने बताइन् । पूर्वी बाल्कोनी त्यही ठाउँ हो, जहाँबाट चोरहरू एङ्गल ग्राइन्डरको सहायताले सङ्ग्रहालयभित्र प्रवेश गरेका थिए । त्यहाँ हाइ इन्ड सेक्युरिटी क्यामेरा जडान गर्ने योजना भए पनि विविध कारणले काम अघि बढ्न सकेको थिएन । गहना चोरीको घटनामा अनुसन्धान भइरहँदा बुधबारदेखि सङ्ग्राहलय सर्वसाधारणका लागि खुला भएको छ ।
बोकरका अनुसार एजिलो मोडेलको लिफ्ट मुख्यतया निर्माण कार्य र सामान ओसारपसारमा प्रयोग गरिन्छ । यसको वास्तविक उद्देश्य मान्छे बोक्नु होइन । चोरीमा प्रयोग भएको उक्त लिफ्ट पेरिस क्षेत्रको एक भाडामा दिने कम्पनीलाई बेचिएको थियो । तर, उक्त लिफ्ट पनि एक ग्राहकबाट चोरिएको थियो । चोरीमा प्रयोग भएको उक्त लिफ्टबाट कम्पनीको अक्षर हटाएको थियो भने नम्बर प्लेट पनि परिवर्तन गरिएको थियो ।
पछिल्लो अध्यावधिक: कात्तिक ८, २०८२ २१:१
