काठमाडौँ । नेपाल टेलिकम दुर्गम क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच बढाउन केन्द्रित बनेको छ । टेलिकमले एकपछि अर्को विकट क्षेत्रमा दूरसञ्चार पहुँच विस्तार गर्दै लगिरहेको छ ।
पर्यटकीय गन्तव्य मनाङको तिलिचो बेसक्याम्पमा ३१ असोजमा पहिलो पटक फोरजी सेवा विस्तार भएको छ । तिलिचोमा मात्रै होइन टेलिकमले ३० असोजदेखि नै सुदूरपश्चिम प्रदेशअन्तर्गत बझाङको तलकोटमा पनि पहिलो पटक फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।
तलकोट गाउँपालिका-४, बुङ्गाडाँडामा बीटीएस टावर जडान गरेर फोरजी सेवा सञ्चालनमा ल्याइएको टेलिकमका प्रादेशिक निर्देशनालय अत्तरियाका इन्जिनियर तिलक धामीले जानकारी दिए ।
उनका अनुसार तलकोट-१ र ४ मा सेवा सुरु भइसकेको छ । जयपृथ्वी नगरपालिका-१ र ५ मा पनि छिट्टै फोरजी सेवा सञ्चालन गरिने उनको भनाइ छ ।
गत ३१ असोजमा नै दार्चुलाको मार्मा गाउँपालिका-५ मा टेलिकमले टुजी र फोरजी सेवा विस्तार गरेको छ । टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङका अनुसार उक्त स्थानमा पहिले एउटा मात्रै टावर रहेकामा हाल नयाँ टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो ।
“पहिला सञ्चारको समस्या थियो । डाँडा, खोँचतिर टेलिफोनको टावर टिप्दैनथ्यो । अब स्थानीयले टेलिकमको भ्वाइस र डेटा सहज रूपमा उपयोग गर्न पाएका छन् । यसले उनीहरूको दैनिक जीवनमा सञ्चार, डिजिटल भुक्तानी लगायतमा सहज भएको छ,” प्रमुख गुरुङले भने ।
दार्चुलाको लेकम गाउँपालिकाको सर्मौली भन्ने स्थानमा टावर निर्माण भएर टुजी र फोरजी सेवा सञ्चालनमा आउनेछ । मालीकार्जुन गाउँपालिकामा पनि टावर बनिसकेको र छिट्टै सेवा सञ्चालनमा ल्याउने टेलिकमको तयारी छ ।
त्यसैगरी, डोटीको दीपायल सिलगढी नगरपालिकामा पनि फोरजी सेवा विस्तार भएको छ । कर्णाली प्रदेशअन्तर्गत जाजरकोटको बारेकोटमा गत ९ असोजमा चट्याङ्गका कारण अवरुद्ध टेलिफोन सेवा हालै सञ्चालनमा आएको छ । बारेकोटमा टेलिकमको सेवा अवरुद्ध भएपछि १० हजारभन्दा बढी सेवाग्राही प्रभावित भएका थिए ।
टेलिकमको प्राविधिक टोलीले अवरुद्ध सेवा मर्मत गरेर सेवा पुन: सञ्चालनमा ल्याएको हो ।
टेलिकमको कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार अगाडि बढाइएको जनाएको छ ।
कर्णाली प्रदेशभर फोरजी तथा फाइबरनेटको पहुँच विस्तार गरिने र हालसम्म ३७ पालिकामा सञ्चार सेवा विस्तार गरिएको निर्देशनालयले जनाएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिका र हुम्लाको हिल्सामा पनि छिट्टै फोरजी सेवा सञ्चालन गर्ने लक्ष्य लिइएको टेलिकमले जनाएको छ ।
सरकारको नीति अनुरूप दूरसञ्चार सेवाको पहुँच राष्ट्रव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले पूर्वाधार निर्माण तथा विस्तार गर्ने र दूरसञ्चार सेवालाई गुणस्तरीय एवम् प्रभावकारी बनाई पहुँच सुनिश्चित गर्ने काम भइरहेको टेलिकमले जनाएको छ ।
जुनसुकै ठाउँमा सञ्चार सम्पर्क अवरुद्ध भएमा तत्काल मर्मत तथा पुनः सञ्चालनको लागि नेपाल टेलिकमको १४९८, एनसेलको ९००५ र सञ्चार मन्त्रालयको ९८५१४१०१०१ ह्वाट्सएपमा खबर गर्न सकिनेछ ।
नियामक नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार हाल मोबाइल ब्रोडब्यान्ड अन्तर्गत नेपाल टेलिकमको बजार हिस्सा ५५.९६ प्रतिशत र एनसेलको ४४.०४ प्रतिशत पुगेको छ । भदौसम्म टेलिकममा मोबाइल प्रयोगतकर्ता एक करोड ५३ लाख ५४ हजार ८०४ र एनसेलका एक करोड ३९ लाख ८१ हजार ८७५ पुगेका छन् ।
हाल फिक्स्ड ब्रोडब्यान्ड (तारयुक्त) ४८.८२ प्रतिशत जनसङ्ख्यामा पुगेको छ । फिक्स्ड ब्रोडब्यान्ड (वायरलेस) ०.४१ प्रतिशत पुगेको छ । साथै, मोबाइल ब्रोडब्यान्डको पहुँच ९१.५५ प्रतिशत जनसङ्ख्यामा विस्तार भएको छ ।
साथै मुलुकभर हालसम्म फोरजी सेवा ८८.६८ प्रतिशत, फाइबर सेवा ४८.८१ प्रतिशत, टुजी सेवा १०.३६ प्रतिशत र थ्रीजी सेवा २.८६ प्रतिशतमा पुगेको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक ९, २०८२ १५:५७
