‘गृहमन्त्री हटाउन मेयर बालेनले दबाब दिएका छैनन्, भ्रम फैलाइयो’
प्रधानमन्त्री सचिवालयको खण्डन
कात्तिक १३, २०८२ १४:८
काठमाडौँ । विगत केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई पदबाट हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भन्दै प्रसारित सामग्रीको प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले खण्डन गरेको छ ।
प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा विभिन्न सञ्चार माध्यममा आएका विवरण भ्रमपूर्ण रहेको दाबी गरिएको छ ।
“कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रको विषय हो । कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन,” विज्ञप्तिमा भनिएको छ, “जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप सरकार गठन भएको भन्दै यो असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आउनुभएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहनुभएको सबैलाई विदितै रहेको छ ।”
सचिवालयले संवेदनशील परिस्थितिमा यस्ता अफवाह नफैलाउन र नपत्याउन अनुरोध गरेको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक १३, २०८२ १४:८
