close

संयुक्त राष्ट्रसंघको साइबर अपराधविरुद्धको महासन्धीमा ७२ देशको हस्ताक्षर, नेपालले गर्न बाँकी

टेकपाना टेकपाना

कात्तिक १३, २०८२ १८:५५

संयुक्त राष्ट्रसंघको साइबर अपराधविरुद्धको महासन्धीमा ७२ देशको हस्ताक्षर, नेपालले गर्न बाँकी

काठमाडौँ । विश्वभर बढ्दो साइबर अपराध नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघले तयार पारेको साइबर अपराधविरुद्धको महासन्धीमा ७२ देशले हस्ताक्षर गरेका छन् । भियतनामको हनोईमा गत अक्टोबर २५ मा आयोजित एक समारोहमा ती देशले हस्ताक्षर गरेका हुन् । तर, नेपालले भने यस महासन्धीमा हस्ताक्षर गरेको छैन ।

सन्धीलाई सुरक्षित डिजिटल भविष्य निर्माण गर्न अन्तर्राष्ट्रिय सहकार्यलाई मजबुत बनाउने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ । हनोईमा आयोजित हस्ताक्षर समारोहमा भियतनामका प्रधानमन्त्री फाम मिन चिन, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस लगायत सहभागी थिए।

संयुक्त राष्ट्रसंघको महासभाबाट डिसेम्बर २४, २०२४ मा स्वीकृत भएको यो सन्धीलाई महासचिव गुटेर्रेसले ऐतिहासिक माइलस्टोनको संज्ञा दिएका छन् । उनले यो दुई दशकभन्दा बढी समयपछि आएको पहिलो आपराधिक न्यायसम्बन्धी सन्धी भएको उल्लेख गरेका छन् ।

महासचिवले इन्टरनेटले जोडे पनि साइबर आक्रमणले महत्त्वपूर्ण सेवाहरू ठप्प पारेको, अर्थतन्त्रलाई क्षति पुर्‍याएको र बालबालिकामाथिको अत्याचारजन्य सामग्री फैलाएको भन्दै चिन्ता व्यक्त गरे।

हनोईमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा १०० भन्दा बढी मुलुकको सहभागीता रहेकोमा ७२ देशले हस्ताक्षर गरिसकेको बताइएको छ।

नेपालले अहिलेसम्म सन्धीमा हस्ताक्षर नगरेको भए पनि हस्ताक्षरका लागि समयसीमा बाँकी रहेको छ। संयुक्त राष्ट्रसंघका अनुसार हनोई समारोहपछि अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा डिसेम्बर ३१, २०२६ सम्म उक्त सन्धीमा हस्ताक्षर गर्न सकिनेछ ।

 

पछिल्लो अध्यावधिक: जेठ २६, २०८३ ६:७