जोखिम निम्त्याउने भन्दै युट्युबले हटायो विन्डोज ११ रिक्वायरमेन्ट बाइपास गर्न सिकाउने भिडिओ
कात्तिक १३, २०८२ २०:३३
काठमाडौँ । माइक्रोसफ्टको विन्डोज ११ अपरेटिङ सिस्टमका कडा रिक्वायरमेन्ट (आवश्यकता) लाई बाइपास गर्ने तरिका देखाइएको क्रिएटरका भिडिओहरूलाई युट्युबबाट हटाइएको छ । आफ्नो कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेको आरोप लगाउँदै युट्युबले ती भिडिओ हटाएको हो ।
युट्युब क्रिएटर रिच (Rich) ले आफ्नो साइबरसीपीयू टेक (CyberCPU Tech) नामक च्यानलमा पोस्ट गरेका भिडिओहरू हटाइएका हुन् । उक्त विषयवस्तु समेटिएका दुई वटा भिडिओ उनले आफ्नो च्यालनमा अपलोड गरेका थिए ।
पहिलो भिडिओमा विन्डोज ११ मा लोकल अकाउन्ट मात्र प्रयोग गरी लगइन गर्ने तरिका सिकाइएको थियो । अर्को भिडिओमा विन्डोज ११ का हार्डवेयर आवश्यकताहरू (Hardware requirements) जस्तै TPM 2.0 लाई कसरी बाइपास गर्ने भनेर बताइएको थियो ।
क्रिएटर रिचले उक्त निर्णयविरुद्ध अपिल गर्दा युट्युबले प्रतिक्रिया स्वरूप 'हार्मफुल अर डेन्जरस कन्टेन्ट' (हानिकारक वा खतरनाक सामग्री) को उल्लङ्घनका आधारमा ‘वार्निङ स्ट्राइक’ (warning strike) जारी गरिएको जनाएको थियो । युट्युबले उक्त सामग्रीले गम्भीर शारीरिक हानि वा मृत्युको जोखिम निम्त्याउने खतरनाक वा अवैध गतिविधिहरूलाई प्रोत्साहन गर्ने वा प्रवर्धन गर्ने बताएको थियो ।
रिचले विन्डोज ११ का रिक्वायरमेन्ट बाइपास गर्दा शारीरिक हानि वा मृत्युको जोखिम निम्त्याउने भन्ने युट्युबको कारण तर्कसङ्गत नभएको बताएका छन् । सुरुमा रिचले आफ्नो पहिलो भिडिओ एआई एल्गोरिदमले गलत फ्ल्याग गरेको हुन सक्ने आशङ्का व्यक्त गरेका थिए । तर, दोस्रो भिडिओ पनि हटाइएपछि उनले आफ्नो विचार परिवर्तन गर्दै माइक्रोसफ्ट नै यो कारबाहीको पछाडि रहेको हुन सक्ने आरोप लगाएका छन् ।
रिचका अनुसार युट्युबले भिडिओ हटाउनुको ठोस वा स्पष्ट कारण दिएको छैन । उनले भनेका छन्, “मलाई मैले के गल्ती गरेँ भनेर बताउन तयार छैन न्। मैले अनुमान र अडकलबाजी गर्नुपर्ने हुन्छ ।” उनले युट्युबको नियम मान्दै आफूलाई प्लेटफर्ममा ‘सेल्फ-सेन्सर’ गर्नुपर्नेमा निराशा व्यक्त गरेका छन् ।
टम्स हार्डवेयरका अनुसार यो कारबाही कसले गर्यो भन्ने कुरा अझै अस्पष्ट छ । यो युट्युबमा कार्यरत ओभरजेलस एआई (overzealous AI) को काम हुन सक्ने अथवा माइक्रोसफ्टले शान्त तरिकाले आफ्ना विन्डोज ११ का रिक्वायरमेन्ट बाइपास गर्ने भिडिओहरू हटाउन आग्रह गरेको हुन सक्ने आशङ्का छ । यद्यपि दुवै कम्पनीबाट कुनै पुष्टि नभएसम्म यी सबै अनुमान मात्र हुनेछन् ।
यो घटना यस्तो समयमा बाहिरिएको छ कि विन्डोज १० को सपोर्ट समाप्त भएको र माइक्रोसफ्टले ग्राहकहरूलाई विन्डोज ११ मा अपग्रेड गर्न प्रोत्साहन गरिरहेको छ । विन्डोज ११ का हार्डवेयर र अकाउन्ट सम्बन्धी कडा सर्तहरूले धेरै प्रयोगकर्ताहरूलाई अपग्रेड गर्नबाट विमुख गराएको छ । जसमध्ये केहीले माइक्रोसफ्टको कोपाइलट प्सल पीसीको सट्टा म्याक र म्याकबुक रोज्न थालेका छन् ।
पछिल्लो अध्यावधिक: कात्तिक १३, २०८२ २०:३३
