अब युट्युबका पुराना तथा कम गुणस्तरका भिडिओ एआईमार्फत 1080 मा अपस्केल गरेर हेर्न मिल्ने
कात्तिक १४, २०८२ १०:४३
काठमाडौँ । अब युट्युबमा कम-रिजोलुसनका भिडिओहरूको गुणस्तर बढाएर हेर्न मिल्ने भएको छ । प्लेटफर्मले विशेषगरी प्रयोगकर्ताको टिभी अनुभवमा सुधार ल्याउन नयाँ रिजोलुसन अपस्केलिङ सुविधा दिने भएको हो ।
युट्युबका अनुसार कम्पनीले अब १०८० पी (1080p) भन्दा कम रिजोलुसनमा अपलोड गरिएका भिडिओहरूलाई स्वचालित रूपमा अपस्केल गर्न अर्थात् एआई प्रयोग गरी एचडी रिजोलुसनमा बढाउन सुरु गर्नेछ । यसका साथै निकट भविष्यमा फोरके (4K) मा समेत अपस्केलिङको सपोर्ट दिने योजना समेत रहेको बुझिएको छ ।
सबैभन्दा महत्त्वपूर्ण कुरा यस सुविधामा क्रियटर र भ्युअर्स (दर्शक) दुवैलाई 'अप्ट आउट' (opt out) गर्ने अर्थात यो सुविधा प्रयोग गर्ने वा नगर्ने विकल्प दिइनेछ । युट्युबका अनुसार क्रियटरहरूले आफ्नो सामग्रीको लाइब्रेरीमा पूर्ण नियन्त्रण कायम राख्न सक्नेछन् । मूल फाइल र मौलिक भिडिओ दुवैको रिजोलुसन अक्षुण्ण राखिनेछ ।
त्यसैगरी भ्युअरहरूले पनि क्रियटरहरूको भिडिओ मौलिक अपलोड गरिएको रिजोलुसनमा हेर्न सक्नेछन् । सेटिङ (settings) अन्तर्गत 'सुपर रिजोलुसन' (super resolution) लाई स्पष्ट रूपमा लेबल गरिनेछ ।
युट्युबका प्रवक्ता भेरोनिका नाभारेटेले बताएअनुसार यो स्वचालित अपस्केलिङ २४० पी (240p) देखि ७२० पी (720p) रिजोलुसनमा अपलोड गरिएका भिडिओहरूमा मात्र लागु हुनेछ । यसको मतलब यो सुविधा ती पुराना भिडिओहरूमा लागु हुने छैन, जसलाई क्रियटर वा च्यानलहरूले पहिले नै १०८० पी मा डिजिटल रूपमा रिमास्टर गरिसकेका छन् ।
यो अप्ट-आउट विकल्प उल्लेखनीय छ । किनकि विगतमा क्रियटरहरूले प्लेटफर्मले उनीहरूको सहमति बिना भिडिओहरूमा सुधार लागु गरिरहेको गुनासो गरेका थिए । जसले कहिलेकाहीँ अनावश्यक रूपमा भिजुअल बिगार्न (undesirable visual distortions) सक्छ ।
यसका साथै युट्युबले फोरके तस्विरलाई सपोर्ट गर्नका लागि हालको भिडिओ थम्बनेल सीमालाई २ एमबी (2MB) बाट ५० एमबी (50MB) सम्म विस्तार गरिरहेको छ । यसका साथै कम्पनीले निश्चित क्रियटरहरूसँग ठुला भिडिओ अपलोडको परीक्षण पनि गरिरहेको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक १४, २०८२ १०:४३
