पारस खड्काको नाममा फेक विज्ञापन प्रचार, बारम्बार रिपोर्ट गर्दा पनि बेवास्ता भएको गुनासो
कात्तिक १४, २०८२ २१:५९
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवम् नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले आफ्नो नाम र तस्बिर बिना अनुमति विभिन्न विज्ञापन र सामाजिक सञ्जालका पोस्टमा प्रयोग भइरहेको भन्दै आपत्ति जनाएका छन्।
शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले भनेका छन्, “विभिन्न सामाजिक सञ्जालहरूमा मेरो अनुमति र जानकारी बिना विज्ञापन तथा अन्य प्रयोजनका लागि मेरो नाम, तस्बिर तथा चिन्हहरूको प्रयोगप्रति मेरो ध्यानाकर्षण भएको छ।”
उनी अगाडि लेख्छन्, “यस्ता कार्यमा मेरो कुनै पनि संलग्नता नरहेको र बारम्बार रिर्पोट गर्दा पनि बेवास्ता गरेर मेरो मान-मर्यादामा क्षति पुर्याउने कार्य निन्दनीय छ ।”
खड्काले अनुमति बिना नाम, तस्बिर वा चिन्हको प्रयोग कानुनले समेत निषेध गरेको भन्दै यस्तो कार्य रोक्न आग्रह गरेका छन् । साथै, भ्रामक सूचना नफैलाउन र ती पोस्टहरूमा विश्वास नगर्न उनले सर्वसाधारणमा अनुरोध गरेका छन्।
पछिल्लो अध्यावधिक: कात्तिक १४, २०८२ २२:९
