चीनले हटायो ईभीले पाउने अनुदान, अब कम्पनीहरूको भविष्य बजार प्रतिस्पर्धाबाटै तय हुने
कात्तिक १६, २०८२ १५:२१
एआई सिर्जित तस्बिर
काठमाडौँ । चीनले वर्षौदेखि विद्युतीय सवारीसाधन (ईभी) उद्योगलाई दिँदै आएको अनुदानमा पूर्णविराम लगाउने स्पष्ट सङ्केत दिएको छ । सरकारी सहयोगका कारण यस क्षेत्रमा आएको ठुलो विकासले विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनमा अहिले अत्यधिक आपूर्तिको अवस्था सिर्जना भएको छ ।
शीर्ष नीति निर्माताहरूले भर्खरैको सन् २०२६-२०३० का लागि तयार गरिएको पाँच वर्षे विकास योजनामा इलेक्ट्रिक ईभीहरूलाई रणनीतिक उद्योगहरूको सूचीबाट हटाएको रोयटर्समा उल्लेख छ । यो उद्योगलाई एक दशकभन्दा बढी समयमा पहिलो पटक उक्त सूचीबाट बाहिर राखिएको हो ।
विश्लेषकहरूका अनुसार यो नीतिगत कदमबाट बेइजिङले अब ईभी उद्योगलाई परिपक्व मानिसकेको र यसलाई पहिलेको जस्तो वित्तीय सहयोग आवश्यक छैन भन्ने कुरा प्रमाणित गरेको छ । अनुदानको साटो यसको विकास अब बजारको शक्तिमा निर्भर हुनेछ ।
परामर्शदाता युरेसिया ग्रुपका चीन निर्देशक ड्यान वाङले यसलाई ईभीहरूलाई अब प्राथमिकता प्राप्त नीतिहरू आवश्यक छैन भन्ने आधिकारिक स्वीकृति मिलेको बताएका छन् । चीनले ईभी सम्बन्धी प्रविधि र ब्याट्रीहरूमा पहिले नै प्रभुत्व जमाइसकेकाले यसलाई प्राथमिकता दिनुको कुनै अर्थ नभएको उनको विश्लेषण छ ।
यद्यपि उक्त सूचीबाट हटाइएको विषयलाई ईभी उद्योग चीन सरकारको प्राथमिकतको क्षेत्रबाट हटेको रूपमा हेर्नु भने हुँदैन । बरु यो विश्वव्यापी व्यापार र सुरक्षा तनावको सन्दर्भमा चीनले आफ्नो क्षमता बढाउन चाहेका अन्य प्रविधिहरूमा स्रोतहरू विनियोजन गर्ने रणनीतिक निर्णय भएको हुन सक्ने कतिपयको विश्लेषण छ ।
यसअघिका तीनवटा पाँच वर्षे योजनाहरूमा एनईभी (न्यु इनर्जी भेहिकल, प्लग-इन हाइब्रिड र इन्धन सेल भेहिकलहरू) लाई रणनीतिक उदाउँदो उद्योगहरूको रूपमा समावेश गरिएको थियो । यसले चिनियाँ अधिकारीहरूलाई ओटो निर्माताहरूलाई ईभी उत्पादन गर्न र उपभोक्ताहरूलाई खरिद गर्न प्रोत्साहित गर्नका लागि अर्बौँ डलर खर्च गर्ने अनुमति दियो ।
यो सहयोगले बीवाईडी जस्ता ईभी च्याम्पियनहरू भएको आपूर्ति श्रृङ्खलाको उदय गरायो । जसलाई चीनले अब नियन्त्रण गर्दछ । जुलाई २०२४ सम्ममा चीन विश्वको सबैभन्दा ठुलो एनईभी बजार बन्यो, जहाँ कूल सवारी बिक्रीमा एनईभीको हिस्सा ५० प्रतिशत भन्दा बढी पुगेको छ ।
तर, सरकारी नीतिबाट प्रभावित उत्पादन लक्ष्यमा पुग्न प्रयास गर्दा यो तीव्र वृद्धिले देशले खपत गर्न सक्नेभन्दा बढी कारहरू उत्पादन हुने अवस्था सिर्जना गर्यो । रिसर्च फर्म जाटो डाइनामिक्सका अनुसार चीनमा सञ्चालनमा रहेका १६९ ओटो निर्माताहरूमध्ये ९३ वटाको बजार हिस्सा ०.१ प्रतिशतभन्दा कम छ । युनिभर्सिटी अफ इन्टरनेसनल बिजनेस एन्ड इकोनोमिक्सका डीन तु सिनक्वानले एनईभीमा धेरै ध्यान नदिने निर्णयले 'ग्रेटर ओभरक्यापासिटी' लाई रोक्न सक्ने बताएका छन् ।
यस परिवर्तनको अर्थ ओटो निर्माताहरूले अब आफ्नो भविष्य बजार प्रतिस्पर्धाले निर्धारण गर्ने वास्तविकताको सामना गर्नुपर्नेछ । परामर्शदाता ड्यान वाङका अनुसार को बाँच्छ भनेर निर्णय गर्न बजारले ठुलो भूमिका खेल्नेछ ।
यसअघि नै चिनियाँ नीति निर्माताहरूले सन् २०२२ को अन्त्यमा ईभी उपभोक्ताहरूका लागि राष्ट्रिय खरिद अनुदान योजना समाप्त गरिसकेका छन् । साथै उनीहरूले सन् २०२७ सम्ममा खरिद कर छुट पनि चरणबद्ध रूपमा हटाउने योजना बनाएका छन् ।
पछिल्लो अध्यावधिक: कात्तिक १६, २०८२ १५:२१
