एक महिनाभित्र युवा तथा खेलकुद मन्त्रालयका सबै कारोबार विद्युतीय माध्यमबाट
कात्तिक १८, २०८२ १६:२०
काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले एक महिनाभित्र आफू र मातहतका निकाय तथा खेल संघहरूको आर्थिक कारोबारमा विद्युतीय माध्यम प्रयोग गर्ने भएको छ ।
मन्त्रालयको तत्काल सुधार कार्ययोजना २०८२ ल्याउँदै मन्त्री बब्लु गुप्ताले सुधारका काम अघि बढाउन लागेका हुन् । जसअनुसार एक महिनाभित्रै मन्त्रालय र मन्त्रालय सम्बद्ध निकायहरू एवं खेल संघहरूबाट गरिने आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग गर्ने योजना सारिएको छ ।
यसका साथै मन्त्रालयले २० दिनभित्र स्थानीय तह, जिल्ला तह, प्रदेश तह र राष्ट्रिय तहका खेलाडीहरूको खेलकुद सम्बद्ध जानकारी समेटिएको विद्युतीय अभिलेख तयार गर्ने योजना बनाएको छ ।
योसँगै मन्त्रालय र सम्बद्ध निकायका बैठकका गतिविधिलाई सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने काम सुरु भइसकेको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक १८, २०८२ १६:२०
