प्रधानमन्त्री कार्कीको फेसबुक र एक्स अकाउन्ट भेरिफाइड, ओलीको एक्सबाट ग्रे चेकमार्क हट्यो
कात्तिक १८, २०८२ १७:४९
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको फेसबुक र एक्स अकाउन्ट भेरिफाइड भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएसँगै नक्कली अकाउन्टको बिगबिगी भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले असोजमा कार्कीका आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट सार्वजनिक गरेको थियो । प्रधानमन्त्री कार्कीको फेसबुक, इन्स्टाग्राम र एक्समा आधिकारिक अकाउन्ट छन् ।
उनको आधिकारिक फेसबुक अकाउन्टले ब्लू चेकमार्क पाएको छ भने एक्समा ग्रे चेकमार्क पाएको छ । एक्स अकाउन्टले केही दिनअघिमात्रै चेकमार्क पाएको हो ।
एक्सले वर्तमान सरकारी अधिकारी तथा कार्यालयहरूको आधिकारिक अकाउन्टलाई ग्रे चेकमार्क रिजर्भ गरेर राखेको छ । प्रधानमन्त्री कार्कीको एक्स अकाउन्ट भेरिफाइड हुँदा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक एक्स अकाउन्टबाट भने ग्रे चेकमार्क हटेको छ । प्रधानमन्त्रीबाट हटेसँगै एक्सले उनको उक्त चेकमार्क हटाइदिएको हो ।
प्रधानमन्त्री कार्कीको आधिकारिक इन्स्टाग्राम अकाउन्ट भने यो समाचार तयार पार्दासम्म भेरिफाइड भएको छैन ।
प्रधानमन्त्री कार्यालयको सूचना प्रविधि महाशाखाका सहसचिव सुवास ढकालले प्रधानमन्त्री कार्कीको सचिवालयले नै सामाजिक सञ्जाल अकाउन्ट भेरिफाइड गर्ने काम गरेको जानकारी दिए ।
“यो काम सचिवालयबाटै भएको हो । आवश्यक कागजात सचिवालयबाटै पठाइएको हो,” ढकालले टेकपानासँग भने ।
कुनै व्यक्ति सम्बन्धित सरकारी पदबाट हटेपछि एक्सले ग्रे-चेकमार्क हटाउने गरेको छ । अमेरिकामा जो बाइडनलाई हराएर डोनल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनको एक्स अकाउन्ट ‘आर्काइभ’ गरिएको थियो । उक्त अकाउन्टबाट २० जनवरी २०२५ पछि कुनै पनि पोस्ट गरिएको छैन । तर, ग्रे चेकमार्क भने छ ।
बाइडेन राष्ट्रपति हुँदा उनको आधिकारिक एक्स अकाउन्ट यही थियो । राष्ट्रपतिबाट हटेपछि बाइडेनको व्यक्तिगत एक्स अकाउन्टमा भने ब्लू चेकमार्क छ । ट्रम्पको एक्स अकाउन्टमा भने अहिले ग्रे चेकमार्क छ ।
अपडेट - हाल प्रधानमन्त्री कार्कीको इन्स्टाग्राम एकाउन्ट पनि भेरिफाइड भएको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक १९, २०८२ १६:१८
