जेनजी प्रदर्शनपछि गायब ‘ड्राइभिङ लाइसेन्स’ फिचर नागरिक एपमा फिर्ता, अनलाइन सचेतना कक्षा सुरु
कात्तिक १८, २०८२ १८:१६
काठमाडौँ । नागरिक एपबाट गायब भएको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) फिचर फिर्ता भएको छ । जेनजी प्रदर्शनका क्रममा यातायात व्यवस्था विभागको केन्द्रीय सर्भर ध्वस्त भएपछि गायब भएको उक्त फिचर मङ्गलबारदेखि एपमा फिर्ता आएको हो ।
केन्द्रीय सर्भरमा भएको क्षतिले सेवा बन्द भएपछि लाखौँ सेवाग्राही प्रभावित बनेका थिए । फिचर फिर्ता भएसँगै अब ट्राफिक जाँचका क्रममा नागरिक एपमा रहेको लाइसेन्स देखाए पुग्ने भएको छ ।
साथै ट्राफिक नियम उलङ्घन गरेपछि लिइने सचेतना कक्षा पनि नागरिक एपमार्फत नै लिन सकिने भएको छ । यदि सेवाग्राहीको मोबाइलमा ड्राइभिङ लाइसेन्स नदेखिए एप पुनः सुरु (Restart) गर्न नागरिक एपले अनुरोध गरेको छ ।

२३-२४ भदौको जेनजी आन्दोलनका क्रममा मीनभवनस्थित यातायात व्यवस्था विभागको भवनमा ठुलो तोडफोड र आगजनी भएको थियो । यस क्रममा यातायात सम्बन्धी सबै विवरणसहितको केन्द्रीय सर्भरसमेत ध्वस्त भएको थियो ।
पछिल्लो अध्यावधिक: कात्तिक १८, २०८२ २२:३६
