विद्यार्थीहरूका लागि राष्ट्रिय स्तरको ह्याकाथन ‘कोडफेस्ट २०२५’ हुँदै, यसरी हुनुहोस् सहभागी
कात्तिक २१, २०८२ १४:३२
काठमाडौँ । युवाहरूका लागि राष्ट्रिय स्तरको ह्याकाथन ‘कोडफेस्ट २०२५’ (CodeFest 2025) को तयारी सुरु भएको छ । कोड फर चेन्ज नामक संस्थाले आयोजना गर्ने यस प्रतियोगिता प्रादेशिक र राष्ट्रिय ग्रान्ड फिनाले गरी दुई चरणमा सञ्चालन हुनेछ ।
देशभरका सातै प्रदेशमा हुने प्रादेशिक चरणमा फरक-फरक विषयका आधारमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिता प्लस टुदेखि स्नातक तहसम्म अध्ययनरत विद्यार्थीहरूका लागि लक्षित गरिएको छ । प्रत्येक प्रदेशबाट छनोट भएका टोलीहरूले दोस्रो चरण अन्तर्गत राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नेछन् ।
काठमाडौँमा हुने प्रादेशिक संस्करण ‘Tech for Transparent Nepal’ विषयमा केन्द्रित हुनेछ । यसअन्तर्गत सहभागी टोलीहरूले प्रविधिमार्फत शासन प्रणालीमा पारदर्शिता र नागरिक सहभागिता प्रवर्द्धन गर्ने डिजिटल समाधानको यूआई/यूएक्स प्रोटोटाइप प्रस्तुत गर्नेछन् ।
चितवनमा ‘Open Innovation’ विषयमा आधारित ह्याकाथन सुनगाभा कलेजमा २८-२९ कार्तिकमा हुने तय भएको छ । यसमा सहभागी टोलीहरूले शिक्षा, विज्ञान, प्रविधि, कृषि, व्यापार, एआई र वातावरण जस्ता क्षेत्रका समस्याको समाधानका लागि निरन्तर दुई दिन कोडिङ र नवप्रवर्तन गर्नेछन् ।
वीरगञ्जको संस्करण ‘Sustainable Development Goals’ (दिगो विकासका लक्ष्यहरू) मा केन्द्रित हुनेछ । यस चरणमा टोलीहरूले दिगो विकासका उद्देश्यलाई सम्बोधन गर्ने डिजिटल प्रणालीको यूआई/यूएक्स प्रोटोटाइप प्रस्तुत गर्नेछन् ।
कोशी प्रदेशमा ‘दृढ समुदायका लागि प्रविधि’ विषयमा ह्याकाथन सञ्चालन हुनेछ । सहभागी टोलीहरूले विपद् व्यवस्थापन, स्मार्ट कृषि, स्थानीय शासन र शिक्षामा सुधार ल्याउने नवीन विचार र डिजाइन प्रस्तुत गर्नेछन् ।
रुपन्देहीमा ‘Innovative IT Solutions for Problems in Rupandehi’ विषयमा ह्याकाथन हुनेछ । जसमा शिक्षा, कृषि, यातायात, स्वास्थ्य र सीमाक्षेत्र सुरक्षामा प्रविधिमार्फत सुधार ल्याउने परियोजना प्रस्तुत गरिने बताइएको छ ।
पोखरा (गण्डकी प्रदेश) को संस्करण ‘The Next Era of E-Governance Harnessing AI’ मा केन्द्रित हुनेछ । यसमा एआई प्रयोगमार्फत सरकारी सेवा, सार्वजनिक सूचना र नागरिक सहभागितामा सुधार ल्याउने डिजिटल समाधान विकास गरिनेछ ।
सुदूरपश्चिम प्रदेशमा ‘स्मार्ट सुदूरपश्चिम’ विषयमा आधारित प्रतियोगिता धनगढीमा मंसिरको पहिलो हप्तामा हुनेछ । यसमा टोलीहरूले आफ्नो परियोजनाको प्रोटोटाइप प्रस्तुत गर्नेछन् ।
त्यस्तै, दाङमा आइडियाथन कार्यक्रम ५-६ मंसिरमा सञ्चालन हुनेछ । ‘Farms to Future’ विषयमा केन्द्रित उक्त कार्यक्रममा सहभागीहरूले स्वास्थ्य, स्मार्ट सिटी, कृषि प्रविधि, शिक्षा र खुला नवप्रवर्तनका क्षेत्रमा सिर्जनात्मक विचार प्रस्तुत गर्नेछन् ।
प्रादेशिक चरण नोभेम्बरसम्म सम्पन्न हुने र राष्ट्रिय ग्रान्ड फिनाले डिसेम्बरमा काठमाडौँमा आयोजना गरिने आयोजकले जनाएको छ । इच्छुक विद्यार्थीहरूले सहभागिताका लागि यहाँ क्लिक गरी दर्ता गर्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: कात्तिक २१, २०८२ १४:३२
