फोटो एडिटिङ र ग्राफिक डिजाइनका लागि क्यान्भाको सब्सक्रिप्सन चाहिने फिचर निःशुल्क दिँदै पेनपट
कात्तिक २१, २०८२ १६:४४
काठमाडौँ । क्यान्भा (Canva) कतिपय क्रियटर, ग्राफिक डिजाइनरका लागि एउटा राम्रो टुल हो । तर त्यसको सशुल्क सब्सक्रिप्सनमा उपलब्ध सेवाको विकल्पमा निःशुल्क तथा ओपनसोर्स प्लेटफर्म पेनपट (Penpot) आएको छ ।
पेनपट एक यस्तो शक्तिशाली र सक्षम विकल्प हो, जसले क्यान्भामा मासिक सब्सक्रिप्सन लिनुपर्ने सरहको सुविधा बिना शुल्क उपलब्ध गराउँछ । पेनपट एक वेबमा आधारित डिजाइन र प्रोटोटाइप प्लेटफर्म हो ।
यो ओपनसोर्स सिद्धान्तहरूमा आधारित छ, जसको अर्थ यसमा एडोबी एप वा क्यान्भाको जस्तो कुनै सब्सक्रिप्सन शुल्क वा कुनै भेन्डर लक-इन छैन । यद्यपि क्यान्भा पूर्णतः बिगिनरहरूलाई ध्यानमा राखेर बनाइएको हो । तर पेनपट भने सुरुदेखि नै डिजाइनर र डेभलपरहरूबिचको दूरी कम गर्न सिर्जना गरिएको थियो ।
पेनपटमा उपलब्ध टुलहरूले यसलाई गम्भीर डिजाइन कार्य गर्ने जो कोहीका लागि उत्कृष्ट विकल्प बनाउँछन् । यसको इन्टरफेस सफा, आधुनिक र क्यान्भाको टुलबारभन्दा कम अस्तव्यस्त रहेको छ ।
यसमा सहज क्यानभास, स्न्याप-टु-ग्रिड, लेयर व्यवस्थापन र अधिक प्रतिक्रियाशील अनडु कार्यक्षमता छ । यसको डिजाइन प्रणालीका फिचर क्यान्भाको भन्दा निकै उत्कृष्ट छन् ।
तपाईँले यसमा कम्पोनेन्ट, भेरियन्ट र डिजाइन टोकनहरू पाउनुहुन्छ । यी पुन: प्रयोग गर्न सकिने डिजाइन ब्लकहरू हुन्, जसले सबै डिजाइनहरूमा एकरूपता कायम राख्छन् । एक पटक एउटा कम्पोनेन्ट परिवर्तन गर्दा त्यो स्वचालित रूपमा सबै ठाउँमा अपडेट हुन्छ, जसले धेरै समय बचाउँछ ।
यो टुलले एसभीजी, सीएसएस र एचटीएमएल जस्ता वेब स्ट्यान्डर्ड प्रयोग गर्दछ । यसले गर्दा डिजिटलका लागि गरिएका डिजाइनहरू सिधै कोडमा रूपान्तरण हुने तरिकाले काम गर्छ, जसले वेबसाइट वा वेब-एपका लागि इन्टरफेस डिजाइन गर्ने डेभलपरहरूलाई निकै सहजता दिन्छ ।
पेनपटमा रियल-टाइम सहकार्य (real-time collaboration) फिचर पनि छ । यसले टिमका सदस्यहरूलाई गुगल डक्स वा फिग्मामा जस्तै एकैसाथ डिजाइनको काम गर्न, कमेन्ट गर्न र डिजाइनको काम छिटो सकाउन गर्न मद्दत गर्छ ।
क्यान्भामा भएका र पेनपटमा नभएका कुरा
पेनपट एक सक्षम टुल भए तापनि यसमा केही कमजोरीहरू पनि छन्, जुन क्यान्भामा पाइन्छ । पेनपट विशुद्ध रूपमा डिजाइन सफ्टवेयर हो । यसमा क्यान्भाले उपलब्ध गराउने एआईमा आधारित ब्याकग्राउन्ड हटाउने जस्ता विशेष फोटो एडिटिङ टुलहरूको अभाव छ ।
यद्यपि आधारभूत एडिटिङ विकल्प वा थप सुविधाहरू प्लगइन इकोसिस्टम मार्फत यसमा थप्न सकिन्छ । क्यान्भामा हजारौँ टेम्प्लेटहरू भएको बृहत् लाइब्रेरी छ । तर पेनपटको टेम्प्लेट र एसेट लाइब्रेरी क्यान्भाको जत्तिको ठुलो छैन ।
पेनपटको सिक्ने क्रम क्यान्भाको भन्दा अलिकति बढी छ । तर, अनुभवी डिजाइनरहरू, जो क्यान्भामा सीमित भएको महसुस गर्छन्, उनीहरूका लागि पेनपट उत्कृष्ट विकल्प हो । सुरुवातकर्ताहरूले पनि केही युट्युब ट्युटोरियलहरू हेरेपछि यसको सहज इन्टरफेस बुझ्न सक्छन् ।
सामाजिक सञ्जाल ग्राफिक्स, प्रिजेन्टेसन जस्ता नियमित डिजाइन कार्य गर्ने जो कोहीका लागि पेनपट एक शक्तिशाली विकल्प हो । जसले शून्य सब्सक्रिप्सन शुल्कमा फुल कन्ट्रोल प्रदान गर्छ ।
पछिल्लो अध्यावधिक: कात्तिक २१, २०८२ १६:४४
