सांकेतिक तस्बिर
काठमाडौँ । मेलबर्न अन्तर्राष्ट्रिय विमानस्थलको क्वान्टास बिजनेस लाउन्जमा एक यात्रुको पकेटमा रहेको लिथियम-आयन पावर बैंक अचानक पड्किँदा उनी घाइते भएका छन् । बिहीबार बिहान लाउन्जमा बसिरहेका करिब ५० वर्षीय पुरुषको पकेटमै पावर बैंक अत्यधिक तातिएर विस्फोट भएको हो ।
यस घटनाका कारण लाउन्जमा बाक्लो धुवाँ फैलिएपछि त्यहाँ रहेका करिब १५० जना यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीका अनुसार पावर बैंक विस्फोटपछि ती पुरुषको खुट्टा र औँला जलेका थिए ।
प्रत्यक्षदर्शीका अनुसार विस्फोटपछि ब्याट्रीको एसिड चारैतिर छरिएको थियो । अस्ट्रेलियाली फिल्म निर्माता लीएन टोनकेसले सामाजिक सञ्जालमा विस्फोट भएको पावर बैंकको जलेको तस्बिर पोस्ट गर्दै क्वान्टासका कर्मचारीको शीघ्र र विवेकशील कार्यको प्रशंसा गरेकी छन् ।
क्वान्टासका कर्मचारीले तत्कालै घाइते पुरुषलाई नजिकैको नुहाउने ठाउँमा पुर्याएर प्राथमिक उपचारको व्यवस्था गरेका थिए । त्यसपछि घटनास्थलमा प्यारामेडिक्सको टोली पुगेर थप उपचार गरेको थियो । क्वान्टासले दिएको जानकारीअनुसार ती पुरुषलाई सामान्य अवस्थामा अस्पताल लगिएको थियो र पछि डिस्चार्ज गरिएको थियो ।
घटनाको करिब दुई घण्टाभित्रै आवश्यक सफाइपछि लाउन्जलाई पुनः सञ्चालनमा ल्याइएको क्वान्टासका प्रवक्ताले जनाएका छन् ।
यस घटनाले हवाई यात्राका क्रममा लिथियम ब्याट्री तथा पोर्टेबल पावर बैंक बोक्ने यात्रुको सुरक्षासम्बन्धी चिन्तालाई पुनः उजागर गरेको छ । क्वान्टासले हाल यात्रीले बोक्ने सबै प्रकारका लिथियम ब्याट्री र पोर्टेबल पावर बैंकसम्बन्धी नीतिमाथि गहन समीक्षा गरिरहेको जनाएको छ र छिट्टै अपडेट उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
विश्वका धेरैजसो एयरलाइन्सले यात्रुलाई पावर बैंक ओभरहेड लगेज कक्षमा नराखी सिटको नजिकै वा हातले सजिलै पुग्ने ठाउँमा राख्न सल्लाह दिँदै आएका छन् । यसको मुख्य उद्देश्य कुनै समस्या आएको खण्डमा तत्काल नियन्त्रण गर्न सकियोस् भन्ने हो ।
लिथियम ब्याट्रीका कारण हवाई सुरक्षामा जोखिम उत्पन्न भएको यो पहिलो पटक भने होइन । यस वर्षको जुलाईमा सिड्नीबाट होबार्ट उडान भर्दै गरेको भर्जिन अस्ट्रेलियाको विमानमा ओभरहेड लकरमा राखिएको पावर बैंकका कारण आगो लागेको थियो । भर्जिन एयरलाइन्सले पनि यात्रुलाई पावर बैंक ‘नजरमा रहने गरी र सजिलै पुग्ने’ ठाउँमा राख्न आग्रह गरेको छ ।
यसअघि गत जनवरीमा दक्षिण कोरियामा एक यात्रुवाहक विमान ध्वस्त हुनुको कारण पनि पोर्टेबल पावर बैंक नै रहेको अनुमान गरिएको थियो ।
एमिरेट्स, क्याथे प्यासिफिक, चाइना एयरलाइन्स, कोरियन एयर र सिंगापुर एयरलाइन्स लगायत धेरै अन्तर्राष्ट्रिय एयरलाइन्सले उडानका क्रममा पावर बैंकको प्रयोग र चार्ज गर्नमा प्रतिबन्ध लगाएका छन् । साथै यात्रुले बोक्न पाउने रिचार्जेबल ब्याट्रीको क्षमतामा पनि सीमा निर्धारण गरिएको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक २२, २०८२ ७:४६
