close

नेपाली बजारमा समेत उपलब्ध जिली ईएक्स फाइभ ईभीले राख्यो २ लाख १० हजार युनिट बिक्रीको कीर्तिमान

टेकपाना टेकपाना

कात्तिक २३, २०८२ १७:१९

नेपाली बजारमा समेत उपलब्ध जिली ईएक्स फाइभ ईभीले राख्यो २ लाख १० हजार युनिट बिक्रीको कीर्तिमान

काठमाडौँ । विद्युतीय एसयूभी जिली ईएक्स फाइभ (EX5) ले विश्वव्यापी २ लाख १० हजार युनिट बिक्रीको आँकडा पार गरेको छ । चिनियाँ सवारी निर्माता कम्पनी जिली अटो कर्पको यो मोडेलले हालै उक्त आँकडा पार गरेको हो । 

कम्पनीका अनुसार सार्वजनिक भएको सात महिनाको अवधिमै यो मोडेलका एक लाख बढी युनिट बिक्री भएका थिए । यसलाई कम्पनीले आफ्नो वर्गका ईभीमध्ये सबैभन्दा उत्कृष्ट भएको बताएको छ । 

यो मोडेलले उत्कृष्ट सुरक्षा मापदण्ड र आकर्षक डिजाइनका कारण अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित पुरस्कार पाएको कम्पनीले जनाएको छ । सन् २०२५ को पहिलो ६ महिनामा जिली अटोको विश्वव्यापी बिक्रीमा ठुलो उछाल आएको थियो । 

सो अवधिमा कम्पनीले सबै सेग्मेन्टका १४ लाख युनिट बिक्री गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४७ प्रतिशतले बढी हो । यो सफलतापछि जिली अटोले यस वर्षको आफ्नो वार्षिक बिक्री लक्ष्यलाई बढाएर ३० लाख युनिट पुर्‍याएको छ । यो नयाँ मोडेल हाल नेपालसहित चीन, थाइल्यान्ड, अस्ट्रेलिया, युरोपेली देश र ल्याटिन अमेरिकासहित विश्वभरका २६ प्रमुख बजारमा उपलब्ध छ । 

सुरक्षा र डिजाइनको मामलामा जिली ईएक्स फाइभले विश्वस्तरमा मान्यता पाएको छ । कम्पनीका अनुसार यस विद्युतीय एसयूभीले सन् २०२४ को ‘रेड डट डिजाइन अवार्ड’समेत प्राप्त गरेको हो । यसको आकर्षक बनावट, राम्रो एरोडाइनामिक्स र स्मार्ट इन्टेरियरका कारण यो पुरस्कार दिइएको कम्पनीले जनाएको छ । 

सुरक्षाको मापदण्डमा पनि यसले नयाँ कीर्तिमान बनाएको छ । सन् २०२४ मा यस गाडीले युरो एनक्याप र एएनक्याप (अस्ट्रेलियाली सुरक्षा मूल्याङ्कन कार्यक्रम) दुवैबाट ‘फाइभ-स्टार सुरक्षा रेटिङ’ पाएको छ ।

जिलीको अत्याधुनिक ‘जीईए प्लेटफर्म’मा बनेको ईएक्स फाइभमा बलियो बढी स्टक्चर र क्लोभर लिफ नामक विशेष ब्याट्री सुरक्षा डिजाइन प्रयोग गरिएको छ । यसले दुर्घटनाको समयमा गाडीलाई उच्च सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ । 

यसमा ९ ओटा एयरब्याग, स्वचालित इमर्जेन्सी ब्रेकिङ, एडप्टिभ क्रुज कन्ट्रोल, लेन-किपिङ असिस्ट, ब्लाइन्ड-स्पट डिटेक्सन र ३६० डिग्री क्यामेरा प्रणाली जस्ता अत्याधुनिक सुरक्षा प्रविधि समावेश छन् ।

नेपालमा हालै बिक्री वितरण सुरु गरिएको यो मोडेलको आधिकारिक आयातकर्ता एलआर मोटर्स रहेको छ । विश्वव्यापी सफलता पाएको यो मोडेल नेपाली ग्राहकहरू माझ पनि लोकप्रिय हुने विश्वास कम्पनीले व्यक्त गरेको छ । 

बढ्दो मागलाई सम्बोधन गर्न एलआर मोटर्सले देशभर डिलरशिप विस्तार गर्ने योजना सार्वजनिक गरेको छ । कम्पनीले यो गाडीको टेस्ट ड्राइभ र बुकिङ खुलाइसकेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २३, २०८२ १७:५०