एनपीएल सिजन २ मा दौडने र उफ्रने रोबोट कुकुर आउँदै, दर्शक र खेलाडीसँग अन्तर्किया गर्ने
कात्तिक २६, २०८२ १४:५३
काठमाडौँ । १ मंसिरदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित रोबोट डग प्रदर्शन गरिने भएको छ । ओमोडा एन्ड जेइको नेपालले प्रस्तुत गर्ने यो चार खुट्टे मेकानिकल कुकुर एनपीएल मैदानमा दर्शक र खेलाडी दुवैका लागि नयाँ आकर्षण बन्ने विश्वास लिइएको छ ।
उक्त रोबोट डगले मैदानमा दौडिन, उफ्रिन र विभिन्न आवाजका आदेशमा प्रतिक्रिया जनाउन सक्ने कम्पनीले जनाएको छ । अत्याधुनिक प्रविधिमा बनेको रोबोटमा क्यामेरा पनि जडान गरिएको छ । जसले मैदानको प्रत्यक्ष दृश्य कुकुरको नजरबाट दर्शकसमक्ष पु–याउने कम्पनीले उद्देश्य राखेको छ ।
यो डाइनामिक मेकानिकल रोबोट चीनको चेरी अटोमोबाइल अन्तर्गतको ओमोडा-जेइको सबब्रान्डले निर्माण गरेको हो । कम्पनीका अनुसार रोबोट डग एइमोगा टेक्नोलोजिज प्रालि (Aimoga Technologies) को प्रविधिमा आधारित छ । ओमोडा-जेइको नेपालले सो रोबोट डगलाई उपयुक्त नाम दिनका लागि दर्शकहरूलाई सुझाव दिन आह्वान गरेको छ ।
एसपीजी अटोमोबाइल्स प्रालि ओमोडा र जेइकोका लागि नेपालको आधिकारिक वितरक हो । कम्पनीले नेपाली बजारमा ओमोडा ई फाइभ, जेइको जे फाइभ, जेइको जे सिक्स र आईकाउर जस्ता मोडेल उपलब्ध गराउँदै आएको छ ।
ओमोडा एन्ड जेइकोले यस सिजनमा पनि ‘म्यान अफ द टुर्नामेन्ट’ विजेतालाई आफ्नो एक प्रिमियम गाडी उपहारस्वरूप प्रदान गर्ने घोषणा गरेको छ ।
मंसिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने एनपीएल सिजन २ मा दर्शकले मैदानमै उक्त रोबोट डगसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: कात्तिक २८, २०८२ १५:२८
