फोटो प्रतियोगिता आयोजना गर्दै नेपाली सेना, विजेतालाई ५० हजार रुपैयाँ पुरस्कार
कात्तिक २८, २०८२ १८:५२
काठमाडौँ । नेपाली सेनाले सेना दिवसको अवसर पारेर ‘नेपाली सेना फोटो प्रतियोगिता-२०८२’ आयोजना गर्ने भएको छ । सेनाले इच्छुक सबैलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको हो ।
प्रतियोगिताले सेना र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै नेपाली सेनाका विविध गतिविधिलाई आमजनतामाझ पुर्याउने उद्देश्य राखेको छ । प्रतियोगिताका लागि विभिन्न विषय निर्धारण गरिएका छन् । विशेषगरी नेपाली सेनाको अपरेसनल गतिविधि, तालिम, खेलकुद, सैनिक-नागरिक सहकार्य र विभिन्न समारोह तथा उत्सवका तस्बिर पठाउन सकिनेछ ।
यसका साथै राष्ट्र विकास, उद्धार, विपद् व्यवस्थापन, संयुक्त राष्ट्र संघीय शान्ति स्थापना कार्य, प्रकृति संरक्षण, परम्परा तथा सांस्कृतिक गतिविधिमा आधारित तस्बिर पनि पठाउन सकिने सेनाले जनाएको छ । प्रतियोगीले प्रत्येक विधामा बढीमा तीन ओटा अर्थात् कुल १८ ओटासम्म तस्बिर पठाउन सक्नेछन् ।
प्रतियोगितामा सहभागी हुन चाहनेले आफ्ना तस्बिर २१ मंसिर भित्र पठाइसक्नुपर्नेछ । सेनाले १२ पुष २०८१ देखि २१ मंसिर २०८२ सम्म खिचिएका तस्बिरलाई मात्र प्रतियोगितामा समावेश गरिने स्पष्ट पारेको छ । तोकिएको समयभन्दा अगाडि वा पछाडि खिचिएका तस्बिर मान्य नहुने सेनाले जनाएको छ ।
प्रतियोगिताका विजेतालाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । जसअनुसार प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३५ हजार र तृतीय हुनेलाई २५ हजार रुपैयाँ प्रदान सेनाले जनाएको छ । उत्कृष्ट तस्बिरको छनोट एक निर्णायक मण्डलले गर्नेछ ।
प्रतियोगितासम्बन्धी थप जानकारीका लागि नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डा, भद्रकालीमा सम्पर्क गर्न सकिनेछ । यसका लागि टेलिफोन नम्बर ०१-५९७९५०९ र ९८४११०४९५७ मा पनि सम्पर्क गर्न सकिने सेनाले जनाएको छ । प्रतियोगीले आफ्ना तस्बिर ‘photo.nepalarmy.mil.np’ मार्फत अनलाइन पठाउनुपर्ने व्यवस्था मिलाइएको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक २८, २०८२ १८:५६
