राष्ट्रिय सुरक्षाको कारण देखाउँदै जर्मनीले गर्यो सिक्सजीमा ह्वावे प्रविधि प्रयोग नगर्ने निर्णय
कात्तिक २९, २०८२ १३:२४
काठमाडौँ । राष्ट्रिय सुरक्षा र डिजिटल सार्वभौमसत्ताको कारण देखाउँदै जर्मनीले आफ्नो दूरसञ्चार नेटवर्कबाट ह्वावे टेक्नोलोजिज जस्ता चिनियाँ आपूर्तिकर्तालाई बाहिर राख्ने भएको छ । बिहीबार बर्लिनमा आयोजित एक व्यापार सम्मेलनलाई सम्बोधन गर्दै जर्मन चान्सलर फ्रेडरिक मेर्जले डिजिटल सार्वभौमसत्तामा जोड दिँदै यस्तो घोषणा गरेका हुन् ।
“हामीले सरकारभित्र जहाँ-जहाँ सम्भव हुन्छ उदाहरणका लागि फाइभजी नेटवर्कमा रहेका (चिनियाँ) उपकरणलाई स्वदेशमै उत्पादन गरिएका उपकरणले प्रतिस्थापन गर्ने निर्णय गरेका छौँ,” चान्सलर मेर्जले भने, “र, यससँगै हामी सिक्सजी नेटवर्कमा चीनबाट कुनै पनि उपकरण प्रयोग गर्न दिने छैनौँ ।”
पछिल्लो समय युरोप आफ्नो प्रविधिगत आवश्यकताका लागि विदेशी मुलुकमाथिको निर्भरतालाई लिएर चिन्तित छ । एसियाली सेमिकन्डक्टरदेखि अमेरिकी आर्टिफिसियल इन्टेलिजेन्स र क्लाउड पूर्वाधारसम्मको निर्भरताले व्यापारिक र भूराजनीतिक तनावका बीच महत्त्वपूर्ण आपूर्ति शृंखलामा खतरा उत्पन्न गरेको छ । गत वर्ष जर्मनीले राष्ट्रिय सुरक्षामा जोखिम रहेको भन्दै दूरसञ्चार कम्पनीलाई आफ्नो मुख्य नेटवर्कबाट ह्वावेका उपकरण हटाउन आदेश दिएको थियो । ब्लुमबर्ग न्युजका अनुसार हाल बर्लिनले ड्युचे टेलिकम एजी (Deutsche Telekom AG) जस्ता कम्पनीलाई चिनियाँ उपकरण हटाएबापत सार्वजनिक कोषबाट क्षतिपूर्ति दिने योजना बनाइरहेको छ ।
मेर्जले आगामी हप्ता फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोसँग हुने डिजिटल सार्वभौमसत्ता सम्बन्धी शिखर सम्मेलनमा यो विषय उठाउने बताए । उनले भने, “हामी उद्योग जगतसँग मिलेर आफूलाई चीनबाट मात्र नभई अमेरिकाका ठुला प्रविधि कम्पनीबाट पनि कसरी स्वतन्त्र बनाउन सकिन्छ भन्नेबारे छलफल गर्नेछौं ।”
यद्यपि मेर्जले जर्मनीको दोस्रो ठुलो व्यापारिक साझेदार चीनसँग पूर्ण रूपमा सम्बन्ध विच्छेद गर्ने कुरालाई भने अस्वीकार गरे । “हामी त्यसो गर्न सक्दैनौं,” उनले अगाडि भने, “चीनले पनि सक्दैन र हामीले त झनै सक्दैनौं ।”
चान्सलर मेर्जले जर्मन व्यवसायीलाई चीनसँग व्यापार गर्दा हुन सक्ने जोखिमबारे सचेत रहन चेतावनी दिँदै सरकारले सधैँ उनीहरूको सुरक्षा गर्न नसक्ने बताए ।
पछिल्लो अध्यावधिक: कात्तिक २९, २०८२ १४:४५
