close

ज्याक डोर्सीले ल्याए टिकटक जस्तै नयाँ प्लेटफर्म ‘डिभाइन’, एआई भिडिओलाई ‘नो इन्ट्री’

टेकपाना टेकपाना

कात्तिक २९, २०८२ १८:९

ज्याक डोर्सीले ल्याए टिकटक जस्तै नयाँ प्लेटफर्म ‘डिभाइन’, एआई भिडिओलाई ‘नो इन्ट्री’

काठमाडौँ । टिकटक र इन्स्टाग्राम रिल्सको दबदबा हुनुभन्दा पहिले छोटा भिडिओको संसारमा ‘भाइन’ निकै लोकप्रिय थियो । केवल ६ सेकेन्डका रचनात्मक भिडिओले भरिएको यस प्लेटफर्मले धेरैलाई इन्टरनेट सेलिब्रिटी बनायो । 

सन् २०१३ मा सुरु भएको भाइनको यात्रा छोटो रह्यो र सन् २०१७ मा ट्वीटरले यसलाई बन्द गर्‍यो । तर, इन्टरनेटमा कुनै पनि कुरा पूर्ण रूपमा समाप्त हुँदैन भन्ने भनाइलाई पुष्टि गर्दै भाइन अब ‘डिभाइन’ (Divine) को रूपमा फर्किएको छ ।

डिभाइनले भाइनका एक लाख घण्टाभन्दा बढी पुराना भिडिओलाई सङ्ग्रहित गरेको छ । अब कन्टेन्ट क्रियटरले यसमा नयाँ छोटा भिडिओ पनि पोस्ट गर्न सक्नेछन् । यो नयाँ प्लेटफर्मको पुरानो भाइनसँग कुनै आधिकारिक सम्बन्ध भने छैन । तर, यसलाई ट्वीटरका संस्थापक ज्याक डोर्सीको गैर-नाफामुखी संस्था ‘एन्ड अदर स्टफ’बाट आर्थिक सहयोग प्राप्त छ । यसलाई ट्वीटरका पूर्व कर्मचारी इभान हेनश-प्लाथले निर्माण गरेका हुन् ।

डिभाइनको प्रेरणा हेनश-प्लाथले सञ्चालन गर्ने ‘रिभोलुसन डट सोसल’ पोडकास्टबाट सुरु भएको थियो । उक्त पोडकास्टमा प्रविधि क्षेत्रका कार्यकारी योएल रोथ र पत्रकार टेलर लोरेन्जले भाइनको मौलिक संस्कृतिलाई गुमाएकोमा दुःख व्यक्त गरेका थिए ।

यही कुराकानीबाट उत्साहित हुँदै हेनश-प्लाथले डोर्सीद्वारा समर्थित विकेन्द्रीकृत सामाजिक सञ्जाल प्रोटोकल ‘नोस्ट्र’ मा डिभाइन निर्माण गरे । टेकक्रन्चसँग कुरा गर्दै डोर्सीले भने, “मैले गैर-नाफामुखी संस्थालाई लगानी गर्नुको कारण नै इभान जस्ता रचनात्मक इन्जिनियरलाई यो नयाँ संसारमा के-के सम्भव छ भनेर देखाउन अवसर दिनु हो । यस्ता अनुमति-रहित प्रोटोकल कुनै कर्पोरेट मालिकको सनकको भरमा बन्द गर्न सकिँदैन ।”

डिभाइनमा संरक्षित भाइन भिडिओ सन् २०१६ मा ‘आर्काइभ टिम’ नामक समूहले ब्याकअप गरेको थियो । हेनश-प्लाथले ती भिडिओलाई भ्युज र केही कमेन्ट जस्ता जानकारी सहित पुरानो अवस्थामा ल्याएका हुन् ।

‘सोरा’, ‘भिओ’ जस्ता एआई एपले अन्य सामाजिक सञ्जाललाई प्रभावित पारेको डिभाइनले स्वीकार गरेको छ । यसैलाई मध्यनजर गर्दै डिभाइनले आफ्नो प्लेटफर्ममा त्यस्तो हुन नदिने वाचा गरेको छ । यसका लागि डिभाइनले ‘प्रुफमोड’ नामक प्रविधिको प्रयोग गर्छ । यसले पोस्ट गरिएका भिडिओ एआई सिर्जित नभई वास्तविक क्यामेराबाट खिचिएको हो भनी क्रिप्टोग्राफिक रूपमा प्रमाणित गर्छ ।

डिभाइनको वक्तव्यमा भनिएको छ, “हामी एआईको अस्तित्वको विरुद्धमा छैनौँ । हामी त केबल एआईले मानव भएको बहाना गरेको विरुद्धमा छौं । हामी यस्तो माध्यम बनाउँदैछौँ, जहाँ मानव रचनात्मकतालाई सम्मान र संरक्षण गरिन्छ र तपाईंले हेरिरहनु भएको भिडिओ कुनै एल्गोरिदमले नभई वास्तविक क्यामेरा सहितको वास्तविक व्यक्तिले बनाएको हो भनेर विश्वास गर्न सक्नुहुन्छ ।”

छोटा भिडिओका क्रियटर र प्रयोगकर्ताले यस माध्यमलाई कति विश्वास गर्छन् हेर्न बाँकी नै छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०८२ ७:५५