close

काठमाडौँ महानगरपालिकाबाट ९ महिनामै ४२ हजार बढी अनलाइन सिफारिस जारी

टेकपाना टेकपाना

मंसिर १, २०८२ ६:३

काठमाडौँ महानगरपालिकाबाट ९ महिनामै ४२ हजार बढी अनलाइन सिफारिस जारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हालसम्म ४२ हजार ८५६ सय विद्युतीय सिफारिस जारी गरेको छ । आइतबार महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको अध्यक्षतामा विभागीय प्रमुख, वडासचिव, लेखापाल र इञ्जिनियर सहभागी बैठकमा यसबारे जानकारी दिइएको हो ।

सो अवसरमा विद्युतीय सेवाका लागि सञ्चालन गरिएको ‘सिफारिस तथा प्रमाणित प्रक्रिया व्यवस्थापन प्रणाली’लाई थप परिष्कृत गर्दै लैजाने विषयमा छलफल भएको थियो । महानगरले यो प्रणाली १३ माघ २०८१ बाट कार्यान्वयनमा ल्याएको थियो । त्यस दिनदेखि अहिलेसम्म ३५ हजार ४४ जनाले विभिन्न सिफारिसका लागि अनलाइनबाट आवेदन दिएका छन् । जसमध्ये गत वर्ष २३ हजार ८६३ ओटा र चालू वर्ष १८ हजार ९९३ ओटा गरी ४२ हजार ८५६ ओटा सिफारिस अनलाइनबाटै स्वीकृत भएका छन् । 

चालु आर्थिक वर्षमा मात्र अनलाइनबाट सिफारिस माग गर्नेको संख्या २० हजार ३९८ जना छन् । यो प्रणालीमा १९५ प्रकारका सेवासँग सम्बन्धित ढाँचा राखिएका छन् । 

यी विवरण सुनिसकेपछि प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले सरकारसँग नागरिकका धेरै काम वडाबाटै सकिने भएकोले नागरिक सेवा सन्तुष्टिमा ध्यान दिन आग्रह गरे । 

विद्युतीय हस्ताक्षर प्रणालीलाई कार्यान्वयन गराउने विषय उल्लेख गर्दै उनले भने, "अनलाइन प्रणालीको पूर्ण कार्यान्वयनले नागरिकको धेरै समस्या सुल्झिन्छन् । सेवा लिन नागरिकले कार्यालय पुग्नु नपरोस् । पुग्नै परे पनि कुर्नु नपरोस् । यसका लागि हामी संवेदनशील बन्नुपर्छ ।"

पछिल्लो अध्यावधिक: मंसिर १, २०८२ ६:१५